धनुषा : धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा उपचाररत छिन् । सहिदनगर नगरपालिका५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन् । विष खाएर उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी आकृति साह र २ वर्षीय छोरी आरुसी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । विषादी सेवनबाट गम्भीर अवस्थामा पुगेकी बविताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए । यादवका अनुसार सोमबार साँझ ६ः४० बजेको समयमा घरमै आमाले तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि आत्महत्याको उद्देश्यले विष खाएकी थिइन् । स्थानीयले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपछि प्रहरीलाई खबर गरिएको थियो । उपचारको क्रममा तीनै जना बालबालिकाको मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । उनका अनुसार गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ । घरायसी विवादका कारणले उनले बच्चाहरूलाई विष खुवाइ आफूले पनि विष खाएको सोधपुछका क्रममा खुलेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दनुहोस्