राजकुमारको हत्यामा एउटा परिवार नै संलग्न, घरमै बोलाएर गरेका थिए निर्घात कुटपिट

कैलालीमा एक युवकको हत्या गरेको आरोपमा एकै परिवारका तीन जना पक्राउ परेका छन्।

कैलारी गाउँपालिका-९ गदरियाका २० वर्षीय राजकुमार रानाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

राजकुमारको शव जेठ-२४ गते धनगढी उपमहानरगपालिका-९ त्रिवेणी घाटस्थित मोहना नदी किनारमा भेटिएको थियो।

उनको हत्या आरोपमा धनगढी उपमहानगर-८ का ६० वर्षीय बम्मन राना, उनकी श्रीमती ५८ वर्षीय भंगु राना र छोरी २० वर्षीया गीता रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

हत्यामा संलग्न एक भारतीय युवक भने फरार छन्।

चार जना मिलेर राजकुमारमाथि कुटपिट गरी हत्या गरेको र शव मोहना नदी किनारमा लगेर फालेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीको अनुसन्धानबाट हत्याका कारण त्रिकोणात्मक प्रेम सम्बन्ध देखिएको छ।

अनुसन्धानअनुसार गीता भारतीय युवकसँग प्रेम सम्बन्धमा थिइन्। तर बिचमा सम्बन्धमा दरार आएपछि उनी राजकुमारसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ।  उनीहरूले बिहे गर्नेसम्मको तयारी गरेको पनि अनुसन्धानबाट खुलेको छ।

पछि भारतीय युवक पनि नजिकिएका थिए। विवाद हुँदा भारतीय युवकलाई नै गीताले साथ दिएपछि उसले राजकुमारको हत्या गर्ने योजना बनाएका थिए। आफ्नो योजना उनले गीता र उनका परिवारलाई पनि सुनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

सबै सहमत भएपछि गीताले नै राजकुमारलाई भेट्न आउनू भनेर साँझमा घरमै बोलाएकी थिइन्। त्यतिबेला भारतीय युवक पनि गीताकै घरमा थिए।

राजकुमार त्यहाँ पुगेपछि परिवारका सबै मिलेर उनीमाथि निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट उनको घटनास्थलमै मृत्यु भएको थियो।

चारै जना मिलेर सोही रात राजकुमारको शव घरबाट झन्डै डेढ किलोमिटर टाढा रहेको मोहना नदी किनारमा लगेर फालेको अनुसन्धानबाट खुलेको डिएसपी तिमिल्सिनाले बताए।  

डिएसपी तिमिल्सिनाका अनुसार हत्या गरेपछि गीता पनि भारत भागेकी थिइन्। उनलाई त्यहाँको प्रहरीको सहयोगमा पक्राउ गरी बुधबार बिहान मात्रै कैलाली ल्याइएकाले थप अनुसन्धान बाँकी छ।

भारतीय प्रहरीको सहयोगमा गीता पक्राउ परे पनि उनका प्रेमी भने भाग्न सफल भएको डिएसपी तिमिल्सिनाले बताए।

राजकुमार हत्या घटनाका आरोपी गीताका बाबु आमा  बिरुद्ध जिल्ला अदालतबाट म्याद थप भइ कर्तव्य ज्यान मुद्दा चलाउने गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राजकुमारको हत्यामा संलग्न गीतालाई बुधबार प्रहरीले म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ। योजना बनाउने भारतीय युवकको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार