धनगढी –सुदूरपश्चिम प्रदेशको हिमाल, पहाड र तराईलाई छोटो दूरीमा जोड्ने बहुप्रतिक्षित ‘धनगढी-खुटिया-दिपायल द्रुतमार्ग (फास्ट ट्र्याक)’ निर्माण कार्यले अब गति लिने भएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले यस आयोजनामा ५९ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै लामो समयदेखि रोकिएको निर्माण कार्य अघि बढ्ने अपेक्षा गरिएको छ।
कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्द र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको पहलमा यस पटक पर्याप्त बजेट सुनिश्चित भएको छ।
विनियोजित बजेटमध्ये ५० करोड रुपैयाँ सडक चौडाइ विस्तार, ग्रेड मिलाउने तथा कालोपत्रे कार्यमा खर्च गरिनेछ भने बाँकी ९ करोड ३० लाख रुपैयाँ सडक खण्डमा पर्ने नदी तथा खोलामा ८ वटा पुल निर्माणका लागि छुट्याइएको छ।

सरकारले यो द्रुतमार्ग आगामी ५ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। सडक निर्माण सम्पन्न भएपछि धनगढीदेखि डोटीको दिपायलसम्मको करिब ८४ किलोमिटर दूरी २ घण्टामै तय गर्न सकिने विश्वास गरिएको छ।

हाल प्रयोगमा रहेको भीमदत्त राजमार्गको तुलनामा यो सडक छोटो, सुरक्षित र छरितो हुने भएकाले यसले समय र इन्धन दुवै बचत गर्ने अपेक्षा गरिएको छ।
यस आयोजना सम्पन्न भएपछि डोटी, अछाम र बाजुरा जिल्लाका बासिन्दाले प्रत्यक्ष लाभ पाउनेछन्। पहाडी भेगका नागरिकलाई स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्री ढुवानी तथा कृषि उत्पादन बजारसम्म पुर्याउन सहज हुने विश्वास गरिएको छ।
लामो समयदेखि कछुवा गतिमा रहेको यो आयोजना अब तीव्र रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ। समयमै निर्माण सम्पन्न भएमा यसले सुदूरपश्चिमको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।




प्रतिक्रिया दिनुहोस्