धनगढी : सुदूरपश्चिम सरकारले एमबिबिएस छात्रवृत्तिका लागि ८ जनालाई छनोट गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आवेदन दिएका १८५ जना मध्ये खुला तर्फ ५ जना, महिलातर्फ २ जना, आदिवासी जनजातितर्फ १ र पिछडिएको क्षेत्रतर्फबाट १ जनालाई छनोट गरेको हो ।
खुलातर्फ १०८ जनाले आवेदन दिएका थिए । जसमध्ये कैलालीको धनगढीका स्तुति मिश्र, प्रोज्ज्वल विनाडी, टीकापुरका यमन ओझा, बैतडीको पुर्चौडीका हरिस प्रसाद भट्ट, अछामको चौरपाटीका गोकर्ण भण्डारी रहेका छन् ।
त्यस्तै महिला तर्फ ३७ जनाले आवेदन दिएकोमा दार्चुलाको मालिकार्जुनकी आरोही भण्डारी, कैलालीको गोदावरीकी सरस्वती ओझा रहका छन् ।
आदिवासी जनजाति तर्फ ७ जनाले आवेदन दिएकोमा कैलालीको जोशीपुरका विशाल डगौरा छात्रवृत्तिका लागि छनोट भएका छन् । पिछडिएको क्षेत्रबाट ३३ जनाले आवेदन दिएकोमा बझाङको दुर्गा थलीका मुकुन्द मिश्र छात्रवृत्तिका लागि छनोट भएका छन् ।
मन्त्रालयले कक्षा ८, १० र १२ सम्म अध्ययन गरेको विद्यालयको प्रकार र पूर्णाङ्क, भूगोल र एमईसीको प्राप्ताङ्कका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयले असोज २२ गते एमबिबिएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरूबाट छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो ।
सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरूका लागि एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७६ अनुसार चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति पाएका विद्यार्थीले प्रति विद्यार्थी १० लाख एकमुष्ट पाउने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्