धनगढी । पछिल्लो ५ दिनमा धनगढीमा जथाभावी पार्किङ्ग गर्ने ५५ सवारीसाधन कारवाहीमा परेका छन् ।
पार्किङ्ग निषेधित क्षेत्रमा पार्किङ्ग गर्ने, नागरिकलाई हिंड्नै असहज हुनेगरि सवारि साधन फुटपाथमा पार्किङ्ग गरेर राख्नेहरु बढेपछि कारवाही प्रक्रिया अघि बढाएको ट्राफिक प्रहरीले ५ दिनमै ५५ सवारी चालकलाई कारवाही गरेको हो ।
कारवाही प्रकिया अगाडी बढाएसंगै मङ्सिर ५ गतेदेखि ९ गतेसम्म ५५ जनालाई कारवाही गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिनगर भन्सारका ट्राफिक प्रहरी सहायक निरीक्षक जगदीश ऐरुले बताएका छन् ।
ऐरुका अनुसार नागरिकलाई बाधा पुग्नेगरि पार्किङ्ग गरिएका ५१ सवारी साधनलाइ कारवाही गरि सम्बन्धित धनिको जिम्मा लगाइएको छ भने बाँकी ४ सवारी धनि कारवाहीको प्रक्रियामा रहेका छन् ।
‘पैदलयात्रीलाई बाधा पुग्नेगरि पार्किङ्ग गरेर राखिएका सवारी साधनलाई ल्याएर चिट काटेका छौं र कारवाही प्रश्चात सम्बन्धित धनिको जिम्मा लगाएका छौँ’, उनले भने, ‘मङ्सिर ५ गतेदेखि अहिलेसम्म ५१ सवारीसाधनलाई कारवाही गरिसकेका छौं, ४ सवारीसाधान कारवाहीको प्रक्रियामा छन् ।’
यस्तै उनले जथाभावी पार्किङ्गको समस्या समाधान गर्न ट्राफिक प्रहरी र धनगढी उपमहानगरपालिका लागि परेकोले सार्वजनिक स्थानमा जथाभावी पार्किङ्ग नगर्न पनि आग्रह गरेका छन् । त्यसो त यसअघि कल २४ न्युजले धनगढीको जथाभावी पार्किङ्गका विषयमा समाचार सम्प्रेषण गरेको थियो । सोहि समाचारपछि नगरप्रहरी र ट्राफिक प्रहरिले अव्यवस्थित पार्किङ्ग हटाउन चासो दिएको हो ।
प्रतिक्रिया दिनुहोस्