निर्मला पन्त हत्याको ६ वर्ष बित्यो, कहाँ पुग्यो ‘नयाँ’ अनुसन्धान?

कंचनपुर : तत्कालीन गृहमन्त्री रवि लामिछानेले गत असार ३० गते पत्रकार सम्मेलन गरी निर्मला पन्त हत्यासम्बन्धी घटनाको अनुसन्धानमा दोषी नजिक पुगेको दाबी गरे। तर हत्या भएको ६ वर्ष बितिसक्दा पनि प्रहरी उही पुरानै जबाफ दिन्छ- ‘अनुसन्धान भइरहेको छ।’

महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते साथीको घर गएका बेला बेपत्ता भएकी थिइन्। उनको शव साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा फेला परेको थियो।

Dengue

अनुसन्धानका लागि थुप्रै छानबिन समिति बने पनि ६ वर्ष बित्दा पनि घटना रहस्यमै छ। हत्याको विरोधमा सडकदेखि सदनसम्म आवाज उठ्यो। यो घटनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्यो। तर अनुसन्धान ‘शून्य’मै छ। प्रहरी पुरानै तथ्यांक र प्रमाणको आधार लिएर बसेको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले निर्मलाको हत्या अनुसन्धानमै रहेको बताए। उनले भने, ‘अनुसन्धानमै छौं, कुनै निष्कर्षमा पुग्न सकिएको छैन।’ पुराना प्रमाण र आधारलाई खोलेर अनुसन्धान भइरहेको उनले बताए।

घटनाको सुरुदेखि केन्द्रबाट यहाँ आएर अनुसन्धानमा जुटको सिआइबीको टोली पनि नयाँ तथ्य फेला नपरेपछि गत वर्ष फर्केर गएको छ। अहिले जिल्ला प्रहरी कार्यालयको टोलीले मात्रै अनुसन्धान गरिरहेको छ। ‘सिआइबी टोली २०८० मै काठमाडौं फर्किसकेको छ,’ जोशीले भने।

६ वर्षसम्म पनि हत्यारा पत्ता लगाउन नसक्नु सरकारको गम्भीर कमजोरी भएको कञ्चनपुर कांग्रेसका युवा नेता लेखराज जोशी बताउँछन्। उनले भने, ‘रवि लामिछानेले गृहमन्त्री हुँदा हत्यारा पत्ता लगाउनुको साटो सरकार छाड्ने बेला झुटो गफ दिए।’ अहिले कञ्चनपुरकै गृहमन्त्री छन्। उनले निर्मलालाई न्याय दिने विश्वास स्थानीयले लिएको लेखराजले बताए।

तत्कालीन गृहमन्त्री लामिछानेले भनेजस्तो निर्मला हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको सत्य नभएको प्रहरीका एक उच्च अधिकारीले बताए। ती अधिकारीले भने, ‘अनुसन्धान निष्कर्षनजिक पुगेको भए शंकास्पद दोषीलाई पक्राउ गर्नुपथ्र्यो नि, अनुसन्धान निष्कर्षमा पुगेको छैन। अनुसन्धान भने निरन्तर चलिरहेको छ।’ निर्मलाका आमाबुबाले छोरीले न्याय पाउने आशा मारिसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार