खडेरीले खेतमै सुक्न थाल्यो रोपेको धान

कैलाली : असार पहिलो सातासम्म पनि मनसुनी वर्षा नहुँदा पश्चिम नेपालका कतिपय पानीका मुहान सुक्न थालेका छन् ।

हिउँदमा पनि कम पानी परेको यहाँ लामो खडेरीले पानीका मुहान सुक्दै जान थालेका हुन् । कैलालीको कैलारी गाउँपालिका ९ देवीगञ्जका जञ्जीरु चौधरीले भूमिगत जल सतहको मात्रा घटेको बताए । नल्का र बोरिङबाट थोरै पानी आउन थालेको बताउँदै उनले यहाँ बग्ने नदी नालाका पानी पनि सुकेकेपछि खेतीपाती गर्न मात्रै होइन, बस्तुभाउलाई खुवाउन पनि समस्या भएको सुनाए ।

यहाँका बह्रौमास बग्ने मोहना, घुराहा, कटैनी, खुटिया, कान्द्रा, पथरैयालगायत नदीको पानी सुक्न थालेका छन् । साथै भूमिगत जलको रिचार्जको माध्यमको रुपमा रहेका तालतलैया समेत सुकेका छन् । केही साताअघि मात्रै कहिल्यै नसुक्ने धनगढी उपमहानगर क्षेत्रकै ठूलो जाखोर ताल सुकेको धनगढी उपमहानगरपालिका ७ का स्थानीय नन्दलाल रानाले बताए ।

अझै केही साता पानी नपरे पानीको हाहाकार भई विकराल अवस्था सिर्जना हुने स्थानीय बताउँछन् ।अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको बेला बर्खे धान खेतीको तयारीमा रहेका किसानहरू अझै चिन्तित बनेका छन् । रोप्नलाई धानको बेर्ना ठिक्क भएपनि पानी नपर्दा किसानहरू अकाश हेरेर दिन कटाउनुपर्ने विवशता थपिएको हो ।

कैलालीको कैलारी गाउँपालिका ८ टेढीका किसान भागवानदास चौधरीले एक साताअघि मात्रै बोरिङले सिँचाइ हुने करिब एक विघा जमिनमा रोपाइ गरे । तर पानी नपर्दा र अत्यधिक गर्मीले उनले रोपेको धान खेतमा ठुला–ठुला धाँजा फाटेको छ । भने, रोपेको धान पनि मर्न लागेको बताए । रोपेको धान सिँचाइ गरिसकेको बताउँदै उनले अरू खेतमा भने पानी परेपछि मात्रै रोपाइ सुरु गर्ने सुनाए । 

धान रोपाइ गरिसकेका कैलालीको गौरीगंगा नगरपालिकाका स्थानीय माघुराम चौधरीले पानी नपर्दे रोपाइ गरेको र गर्मीले धान सुक्न थालेपछि सिँचाइ गर्नुपर्दा हाल पछुतो भइरहेको सुनाए ।उसो त नेपालमा मनसुन भित्रिएको एक साता बितिसकेको छ । तर यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले सुदूरपश्चिम प्रदेशमा आउन अझै समय लाग्ने बताइएको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जनाएको छ ।

मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ । साथै बाढी, पहिरोले धनजनको क्षति समेत गराएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार