के अब बन्ला त अत्तरिया बसपार्क ?

धनगढीः सुदूरपश्चिमको मुख्यद्वार तथा पहाडी सातवटा जिल्ला जोड्ने प्रमुख व्यापारिक र रणनीतिक केन्द्र हो- अत्तरिया। यही अत्तरियाको मुटुमा अवस्थित बसपार्क नदेखेको पक्कै कसैले पनि होइन। यो बाटो भएर दैनिक हजारौं नागरिक, जनप्रतिनिधि, मन्त्री र उच्चपदस्थ अधिकारीहरू आवतजावत गर्छन्। तर, विडम्बना “वर्षौंदेखि यो बसपार्क लथालिङ्ग, हिलाम्मे र अस्तव्यस्त अवस्थामा थन्किएको छ।” फोहोरको डंगुर र बेथितिैबेथितिको सास्ती खेपिरहेको यही बसपार्क क्षेत्रमा सामान्य सावधानी नअपनाउँदा कतिपयले अकालमै ज्यान गुमाएका छन्, कतिपयले गम्भीर दुर्घटनाको पीडा भेगेका छन्। यत्रो वर्ष बितिसक्दा, यस क्षेत्रबाट कयौं नेताहरू मन्त्री र सत्ताको उपरी तहमा पुग्दा पनि यो कुरुप अवस्थामा परिवर्तन आउन सकेको थिएन।

तर, आइतबार एउटा फरक दृश्य देखिएको छ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट, पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्ट र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलगायतको प्रभावशाली टोलीले अत्तरिया बसपार्क क्षेत्रको स्थलगत अनुगमन गरेको छ। बसपार्कको हिलाम्मे अवस्था, पूर्वाधारको चरम अभाव र यसले निम्त्याएको जोखिमलाई उनीहरूले नजिकबाट अवलोकन गरेका छन्। अनुगमनका क्रममा मन्त्री भाटले अत्तरिया बसपार्क सुदूरपश्चिमकै मुख्य यातायात केन्द्र भएकाले यसको कायापलट गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। उनले यसको समस्या समाधानका लागि आवश्यक योजना, बजेटको व्यवस्थापन र गोदावरी नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। मेयर वीरेन्द्र भट्टले पनि यसको दीर्घकालीन व्यवस्थापनका लागि ठोस योजना बनाउने कुरामा सहमति जनाएका छन्।

यसलाई सकारात्मक रूपमा हेर्नु जरुरी छ। आखिर, जनप्रतिनिधिहरूले फिल्डमै पुगेर समस्या देख्नु र यसको समाधानका लागि सार्वजनिक रूपमा प्रतिबद्धता जनाउनु आफैंमा एउटा राम्रो सुरुवात हो। नयाँ सोच र ऊर्जा बोकेको यो सरकारले यसपटक साँच्चै तादरुकता देखाएको आभास पनि मिल्छ। तर, जनताको मनमा प्रश्न उठ्नु स्वाभाविक हो “के यो अनुगमन सधैंजस्तै एउटा कर्मकाण्ड र देखावटी औपचारिकतामा मात्र सीमित हुनेछ, वा यसपटक साँच्चै अत्तरिया बसपार्कको मुहार फेरिनेछ?” किनकि, पटक-पटक गरिने अनुगमन र आश्वासनका शब्दहरूले मात्र यहाँको हिलो र अस्तव्यस्तता सुक्ने छैन।

अत्तरिया बसपार्क कुनै सामान्य सार्वजनिक स्थान मात्र होइन, यो सुदूरपश्चिमको प्रतिष्ठा र आवागमनको मुख्य धमनी हो। सडकको छेउमै रहेको यो बेथिति अब थप हेरिरहन सकिँदैन। यदि यसपटक मन्त्री र स्थानीय सरकारले बोलेको कुरालाई इमानदारीपूर्वक कार्यान्वयन गरे, बजेटको सुनिश्चितता गरे र पारदर्शी ढङ्गले काम अगाडि बढाए भने साँच्चै वर्षौंदेखिको यो उपेक्षा अन्त्य हुन सक्छ। त्यसैले, अब फेरि अर्को अनुगमन वा आश्वासनको झरी होइन, ठोस भौतिक परिणामको प्रतीक्षामा सुदूरपश्चिमवासी रहेका छन् ! के अब सचमुच बन्ला त अत्तरिया बसपार्क? उत्तर अब कागजी योजनामा होइन, फिल्डमा देखिने कामले दिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार