धनगढी — सामाजिक सञ्जाल फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा दार्चुलाका एक नेपाली नागरिक भारतको उत्तराखण्ड राज्यबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–९ निवासी ३२ वर्षीय वीरभानराम लावड रहेका छन्। भारतको पिथौरागढ प्रहरीले साइबर अपराध नियन्त्रण अभियानअन्तर्गत उनलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको जनाएको छ। अदालतले लावडलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ।
भारतीय प्रहरीका अनुसार अमेरिकाबाट प्राप्त सूचनाको आधारमा सन् २०२६ जुलाई १५ मा बलुवाकोट प्रहरी चौकीमा भारतको सूचना प्रविधि ऐन, २००० को धारा ६७(बी) अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
त्यसपछि गरिएको प्राविधिक तथा डिजिटल अनुसन्धानका क्रममा फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री विभिन्न व्यक्तिलाई पठाउने र प्रसारण गर्ने गतिविधिमा लावडको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उक्त सामग्री प्रसारणका लागि प्रयोग भएको मोबाइल नम्बर बलुवाकोटकी एक महिलाको नाममा दर्ता भएको भेटिए पनि उक्त सिम उनका भाइ वीरभानराम लावडले प्रयोग गरिरहेको पुष्टि भएको भारतीय प्रहरीको भनाइ छ।
आवश्यक डिजिटल प्रमाण र अन्य तथ्य संकलन गरेपछि पिथौरागढ प्रहरीको टोलीले साउन १९ गते लावडलाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई अदालतमा पेश गरिएकोमा अदालतले अनुसन्धानका लागि १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको भारतीय प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्