धनगढी — कैलालीको गोदावरी नगरपालिका–४ स्थित बन्देवी फायरिङ रेञ्जमा नेपाली सेनाको नियमित फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन्।
बिहीबार बिहान करिब ८:१० बजे देवदल गणको सैन्य तालिम सञ्चालन भइरहेका बेला ग्रिनेड विस्फोट भएको हो। घटनामा सहायक सेनानी विक्रम कार्की (३०) को दाहिने हात र अनुहारमा चोट लागेको छ भने सैनिक रञ्जित थारु (२०) को दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा महराका अनुसार विस्फोटपछि घाइते दुवै सैनिकलाई तत्काल उद्धार गरी नेपाली सेनाको आर्मी अस्पताल, बोराडाँडीमा उपचारका लागि लगिएको थियो।
प्रहरीका अनुसार दुवै घाइतेको स्वास्थ्य अवस्था मध्यम रहेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्