धनगढी– बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब तीन महिनाअघि भएको बस दुर्घटनाका घाइते दिदी-बहिनीको उपचार खर्च ५५ लाख रुपैयाँभन्दा बढी पुगेको छ। तर, जिम्मेवार यातायात व्यवसायी र बीमा कम्पनी भने सम्पर्कविहीन बनेका छन्।
गत २०८३ वैशख २८ गते काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको खप्तड मालिका यातायात प्रालिको ना. ८ ख १९४९ नम्बरको बस बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। १७ जना यात्रु सवार उक्त दुर्घटनामा डडेलधुराको भागेश्वर गाउँपालिका-४ का २२ वर्षीया उर्मिला भट्ट र उनकी ३३ वर्षीया दिदी नीलम ओझा भट्ट गम्भीर घाइते भएका थिए।
दुर्घटनामा उर्मिलाका दुवै हात र टाउकोमा तथा नीलमको हातमा गम्भीर चोट लागेको छ। हाल उर्मिलाको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र नीलमको कलंकीस्थित नेशनल अस्पतालमा उपचार जारी छ।
तीन महिनासम्म ३ लाख मात्रै सहयोग
दुर्घटना भएको लामो समय बितिसक्दा पनि बीमा कम्पनीबाट उपचार खर्चबापत हालसम्म जम्मा ३ लाख रुपैयाँ मात्र उपलब्ध गराइएको पीडित परिवारले गुनासो गरेको छ। पछिल्लो एक महिनादेखि त बसका मालिक तथा बीमा कम्पनीका प्रतिनिधिहरू पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्। यसले गर्दा दैनिक रूपमा बढ्दै गएको महँगो उपचार खर्च धान्न परिवारलाई चरम आर्थिक संकट उत्पन्न भएको छ।
‘बिग्रिएको गाडी’ र कर्मचारीको लापर्बाहीले टरिएन दुर्घटना
विश्वसनीय स्रोतका अनुसार दुर्घटनामा परेको उक्त बस यसअघि नै करिब दुई महिनादेखि बिग्रिएको अवस्थामा थियो। काठमाडौं बसपार्कबाट धनगढी ल्याई त्यहाँबाट भारततर्फ लगेर मर्मत गर्ने योजनाअनुसार उक्त गाडी चलाइएको खुलेको छ।
यात्राका क्रममा काठमाडौंबाट बर्दियासम्म पुग्दासम्म सो बस बाटोमै ४-५ पटक बिग्रिएको थियो। बाटोमा गाडी बारम्बार बिग्रिन थालेपछि घाइते उर्मिला र नीलमले आफूहरूलाई अर्को सुरक्षित बसमा पठाइदिन चालक-सहचालकसमक्ष आग्रह गरेका थिए। तर, बसका कन्डक्टरले उनीहरूको आग्रह सुन्नुको साटो उल्टै, “यो तिम्रो व्यक्तिगत बस होइन, म बस रोक्न सक्दिन” भन्दै हप्काएको र अन्यत्र जान रोक लगाएको पीडित परिवारले बताएको छ। समयमै यात्रुहरूको सुरक्षाप्रतिको संवेदनशीलताबारे ध्यान दिइएको भए यो ठूलो दुर्घटना टर्न सक्थ्यो भन्ने परिवारको ठहर छ।
निष्पक्ष छानबिन र कारबाहीको माग
पीडित उर्मिला र नीलमका दाजु पुष्पराज भट्टले घटनाको निष्पक्ष छानबिन गरी दोषी यातायात व्यवसायी तथा कर्मचारीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। साथै, घाइतेहरूको बाँकी सम्पूर्ण उपचार खर्च र उचित क्षतिपूर्तिको व्यवस्था यथाशीघ्र मिलाइदिन उनले सम्बन्धित निकायसँग जोडदार अपिल गरेका छन्।




प्रतिक्रिया दिनुहोस्