काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार राति भएको छलफलका क्रममा बागमती संसदीय दल नेता जगन्नाथ (जेएन) थपलिया ढलेको विषयमा धारणा राखेका छन् ।
नेता बस्नेतले थपलियाले सोमबार गुण्डुमा आफ्नो धारणा राख्ने क्रममा केही भावुक हुँदा गला अवरुद्ध मात्रै भएको दावीसहित सामान्य स्वास्थ्य असहजता देखिएको बताएका हुन् ।
‘आज केही सञ्चारमाध्यमले अध्यक्ष निवासमा भएको छलफललाई लिएर संसदीय दलका नेता जगन्नाथ थपलियाबारे भ्रामक समाचार सम्प्रेषण गरेका छन्’, बस्नेतले सार्वजनिक समाचारप्रति असहमति जनाउँदै भनेका छन्, ‘छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँ केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको हो ।’ उनले उक्त विषयलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न सामाजिक सञ्जालमार्फत भनेका छन् । बस्नेतले यस्तो दावी गरेपनि छलफलमै सहभागी सांसदहरूले ओलीको हप्कीदप्कीपछि नेता थपलिया बेहोस भएर लडेपछि अस्पताल लगिएको बताउँछन् ।
साथै बस्नेतले बागमती प्रदेश सरकार निर्माणका विषयमा नेकपा (एमाले) र नेकपाबिच भएको सहमतिअनुसार प्रदेशका सांसदहरू र पार्टी नेतृत्वबिच निरन्तर आन्तरिक छलफल भइरहेको पनि जनाएका छन् ।
‘हाम्रो पहिलो प्राथमिकता सहमतिमै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने हो। यदि सहमति जुट्न सकेन भने संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय गरिनेछ’, बस्नेतको भनाइ छ ।
उनले एमाले र नेकपा मिल्दा पनि प्रदेश सभामा बहुमतका लागि अझै ३ सिट आवश्यक पर्ने अवस्था रहेकाले सबै पक्षलाई समेटेर स्थायी र जिम्मेवार सरकार निर्माणका लागि पार्टी अध्यक्षलगायत शीर्ष नेतृत्वले आवश्यक पहल र निर्देशन गरिरहेको पनि जनाएका छन् ।




प्रतिक्रिया दिनुहोस्