बुटवल । पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बिच सोमबार हुने भनिएको छलफल स्थगित भएको छ ।
आइतबार दिउँसो अस्थायी बाँध निर्माणको विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो । तर, एसएसबीका एक जवानलाई सर्पले डसेपछि उपचारका लागि खटिनुपरेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको हो ।
सुस्ता बचाउ अभियानका संयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँले भारतीय पक्षसँग सोमबार छलफल गर्ने सहमति भए पनि एसएसबीका एक जवानलाई सर्पले डसेपछि उपचारका लागि खटिनु परेकाले छलफलमा सहभागी हुन नसक्ने जबाफ उताबाट आएको बताए ।
‘एसएसबीका कमान्डरले फोन गरेर एक जना जवानलाई सर्पले डसेकाले उपचारमा खटिनुपरेको र आज छलफल गर्न नसकिने जानकारी गराउनुभयो,’ उनले भने ।
खाँका अनुसार भारतीय पक्षले आइतबार आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको छ । सोही सहमतिअनुसार स्थानीयवासीले चिनो लगाइएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न सक्ने उनले बताए ।
‘भारतीय पक्षले हिजो चिनो लगाएको ठाउँसम्म अस्थायी बाँध बनाउन मौखिक सहमति दिएको छ,’ उनले भने, ‘अब दुवै पक्षको समय मिलाएर छलफल गर्ने सहमति भएको छ ।’
यसअघि आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि दिउँसो करिब ३ बजेतिर सुस्ता क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।




प्रतिक्रिया दिनुहोस्