सुदूरपश्चिममा मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पक्का, नेकपा र एमालेको भागमा कति मन्त्रालय?

धनगढी – केन्द्रको नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गर्ने भएपछि संसदीय दलका नेता खगराज भट्टको मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार भट्ट अब प्रदेश सरकारको बागडोर सम्हाल्ने तयारीमा छन्। प्रस्तावित मुख्यमन्त्री भट्ट केन्द्रका शीर्ष नेताहरूसँगको भेटघाट र निर्देशपछि धनगढी फर्किसकेका छन्। तर, असार ३१ गते एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्म राजीनामा वा विश्वासको मत लिने विषयमा स्पष्ट निर्णय नगर्दा नयाँ सरकार गठनको प्रक्रिया केही लम्बिएको छ। एमाले र नेकपाका नेताहरूले बजेट शून्यताको अन्त्य गर्न मुख्यमन्त्री शाहले तत्काल मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएका छन्।

नयाँ सरकार गठनका लागि मन्त्रालयको भागबन्डा र मन्त्री छनोटको गृहकार्य पनि तीव्र पारिएको छ। दुई दलबीचको समझदारीअनुसार नेकपाको भागमा मुख्यमन्त्रीसहित ३ मन्त्रालय र २ राज्यमन्त्री पर्ने कुरा भएको छ। जसमा मुख्यमन्त्रीबाहेक साविक माओवादी केन्द्रबाट १ मन्त्री र १ राज्यमन्त्री, साविक नागरिक उन्मुक्ति पार्टीबाट १ मन्त्री र १ राज्यमन्त्री, तथा साविक नेकपा (एकीकृत समाजवादी) बाट १ मन्त्री सरकारमा पठाउने विषयमा लगभग सहमति जुटिसकेको छ। यद्यपि, सरकार छोटो समयका लागि मात्रै बन्ने भएकाले राज्यमन्त्री नराख्ने विकल्पमा पनि आन्तरिक छलफल चलिरहेको छ। मन्त्रीहरूको नाम टुंगो लगाउन नेकपाले प्रदेश इन्चार्ज भानुभक्त जोशी, प्रदेश संयोजक हरि चौधरी ‘उत्सव’ र संसदीय दलका नेता खगराज भट्ट रहेको ३ सदस्यीय कार्यदलसमेत गठन गरेको छ।

यसैगरी, कांग्रेसले यसअघि नेतृत्व गरेका मन्त्रालयहरू एमालेको भागमा पर्ने सम्भावना रहेको छ। तदनुरूप एमालेको भागमा आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पर्ने सम्भावना प्रबल रहेको छ। एमालेबाट भने यसअघि सरकारमा अवसर नपाएका नयाँ अनुहारहरूलाई मात्र मन्त्री बनाउने तयारी गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार