सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री शाहको राजीनामा माग्ने

धनगढी — सुदूरपश्चिम प्रदेशमा राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी गरेको छ।

हाल धनगढीस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा सहभागी अधिकांश सांसदले सरकारले प्रदेशसभामा बहुमत गुमाइसकेको निष्कर्ष निकाल्दै मुख्यमन्त्रीले नैतिक आधारमा पदबाट हट्नुपर्ने धारणा राखेका छन्। यद्यपि, यसबारे औपचारिक निर्णय भने बैठकपछि सार्वजनिक गरिने बताइएको छ।

बैठकमा सहभागी एक सांसदका अनुसार, अहिलेको सरकार कामचलाउ अवस्थामा पुगेको भन्दै कुनै पनि दीर्घकालीन वा महत्वपूर्ण नीतिगत निर्णय नगर्न सरकारलाई आग्रह गर्ने तयारीसमेत भइरहेको छ। साथै, प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नुपर्ने दाबीलाई अघि सार्दै अन्य राजनीतिक दलसँग छलफललाई तीव्र बनाउने रणनीति पनि बनाइएको छ।

बैठकमा पार्टीका प्रदेश इञ्चार्ज भानुभक्त जोशी, सह–इञ्चार्ज दीर्घबहादुर सोडारी तथा पार्टी अध्यक्ष हरि चौधरीको उपस्थिति रहेको छ।

केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणबारे अन्तिम सहमति नबन्दासम्म सुदूरपश्चिममा नेकपाले दुवै दलसँग आन्तरिक संवाद जारी राखेको स्रोतले जनाएको छ।

प्रदेशसभामा २२ सांसद (सभामुख र निलम्बित सदस्यसहित) रहेको उल्लेख गर्दै नेकपाले आफू नै सबैभन्दा ठूलो दल भएकाले सरकार गठनको पहिलो दाबी आफ्नो हुने अडान दोहोर्‍याएको छ। कांग्रेससँग मिलेर केवल बजेट पारित गर्ने विकल्प अब पर्याप्त नहुने पार्टीको निष्कर्ष छ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गर्न कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ। कांग्रेसका १८ सांसद रहे पनि एक सांसद प्रकाशबहादुर देउवा हाल अमेरिका रहेका छन्। उता, एमालेका चार मन्त्रीलाई पदमुक्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो, जसका कारण मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ।

बजेट पारित हुने सम्भावना कमजोर बन्दै गएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याउने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। यही पृष्ठभूमिमा बसेको नेकपा संसदीय दलको बैठकलाई सुदूरपश्चिमको आगामी सत्ता समीकरण निर्धारण गर्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार