धनगढी :- मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यका साथ धनगढीमा सामग्री हस्तान्तरण गरेको छ। फाइनान्सको धनगढी शाखा कार्यालयले नेपाल परिवार नियोजन संघ धनगढी शाखालाई स्वास्थ्य सेवा प्रवाहमा सहजताका लागि आवश्यक भौतिक सामग्री सहयोग गरेको हो।
फाइनान्सका तर्फबाट धनगढी शाखा प्रमुख लक्ष्मी पाण्डे र सुपरभाइजर पूजा भट्टले संयुक्त रूपमा परिवार नियोजन संघ धनगढीका पदाधिकारी तथा प्रतिनिधिहरूलाई १ थान एयर कन्डिसनर (एसी) र १ थान तीन सिटे बेन्च हस्तान्तरण गरेका हुन्।
सेवाग्राहीको सहजता र स्वास्थ्य संस्थाको सेवा स्तरलाई थप प्रभावकारी बनाउन उक्त सामग्रीहरू प्रदान गरिएको फाइनान्सले जनाएको छ।
मञ्जुश्री फाइनान्स लिमिटेडले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आगामी दिनहरूमा पनि यस्ता समुदाय लक्षित सामाजिक कार्यहरूलाई निरन्तरता दिने फाइनान्सका धनगढी शाखा प्रमुख लक्ष्मी पाण्डेले जानकारी दिइन्।
सामग्री बुझ्दै परिवार नियोजन संघ धनगढीका प्रतिनिधिहरूले स्वास्थ्य संस्थाको आवश्यकतालाई बुझेर गरिएको यस सहयोगप्रति मञ्जुश्री फाइनान्स लिमिटेडलाई धन्यवाद दिएका थिए। कार्यक्रममा फाइनान्सका कर्मचारी र परिवार नियोजन संघका स्वास्थ्यकर्मी तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।




प्रतिक्रिया दिनुहोस्