धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद सत्ता साझेदार दलहरूबीचको संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने बताएका छन्।
बजेटसम्बन्धी विवादबारे छलफल गर्न काठमाडौं पुगेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग सोमबार भएको भेटमा थापाले सत्ता साझेदार नेकपा एमालेसँग थप संवाद गरी सहमतिका आधारमा बजेट प्रक्रियालाई अघि बढाउन सुझाव दिएका हुन्।
उनले कांग्रेस–एमाले गठबन्धनको भावना अनुरूप आपसी विश्वास र सहकार्यलाई बलियो बनाउँदै निर्णय प्रक्रियालाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए। बजेटका विषयमा देखिएको मतभेदलाई टकराबभन्दा पनि राजनीतिक संवादबाट समाधान गर्नु गठबन्धनको स्थायित्वका लागि आवश्यक रहेको उनको भनाइ थियो।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको ३७ अर्ब ७० करोड रुपैयाँको बजेटप्रति सत्ता साझेदार एमालेले असन्तुष्टि जनाउँदै प्रदेश सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गरिसकेको छ। त्यसपछि बजेटलाई लिएर गठबन्धनभित्र नै मतभेद चुलिएको छ।
यता, मुख्यमन्त्री शाहले विवाद समाधानका लागि आवश्यक परे कार्यदल गठन गर्न सकिने संकेत दिएका छन्। तर एमालेले भने सामान्य संशोधनले मात्र नपुग्ने भन्दै बजेट पुनः तयार गर्नुपर्ने अडान दोहोर्याउँदै आएको छ।
थापा र शाहबीचको भेटमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा तथा प्रतिनिधिसभा सदस्य दिवानसिंह विष्टको पनि सहभागिता रहेको जनाइएको छ। भेटमा गठबन्धनलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो।




प्रतिक्रिया दिनुहोस्