धनगढीमा प्रतिबन्धित प्लास्टिकजन्य कृत्रिम फूलको बिक्री–वितरण रोक्न प्रशासनसँग माग

धनगढीः कैलालीका पुष्प व्यवसायीहरूले सरकारले प्रतिबन्ध लगाएका प्लास्टिकजन्य कृत्रिम फूलको आयात तथा बिक्री–वितरण अझै रोक्न नसकिएको भन्दै नियन्त्रणका लागि प्रशासनको ध्यानाकर्षण गराएका छन्।

व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिबन्धित कृत्रिम फूल बजारमा सहजै उपलब्ध हुँदा स्वदेशमै उत्पादन हुने ताजा फूलको व्यापार प्रभावित भएको बताएका छन्। उनीहरूका अनुसार यसले नेपाली किसान र पुष्प व्यवसायीलाई आर्थिक नोक्सानी पुर्‍याउनुका साथै स्वदेशी उत्पादनको प्रवर्द्धनमा समेत बाधा सिर्जना गरेको छ।

ज्ञापनपत्रमा प्रशासनको नेतृत्वमा बजार अनुगमनलाई प्रभावकारी बनाउन, प्रतिबन्धित फूल बिक्री गर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्न तथा भन्सार, प्रहरी र स्थानीय तहबीच समन्वय गरेर अवैध आपूर्ति नियन्त्रण गर्न माग गरिएको छ।

त्यसैगरी स्थानीय तहहरूले नियमित रूपमा बजार अनुगमन गर्नुपर्ने, सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक कार्यक्रमहरूमा स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने र पुष्प व्यवसायलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको व्यवसायीहरूको सुझाव छ।

व्यवसायीहरूले प्रतिबन्धित प्लास्टिकजन्य फूलको कारोबार रोक्न सम्बन्धित निकायबीच संयुक्त अनुगमन तत्काल सुरु गर्न आग्रह गर्दै नेपाली किसान, पुष्प व्यवसाय र वातावरण संरक्षणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले वातावरणीय प्रभाव न्यूनीकरण, स्वदेशी उत्पादनको संरक्षण र स्थानीय अर्थतन्त्रको सुदृढीकरणका लागि कृत्रिम फूलको अवैध कारोबार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार