रास्वपालाई मुकुल ढकालको शुभकामना : राजनीति गर्नुहोस्, राजव्यक्ति नगर्नुहोस्

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम महाधिवेशनमा छ । तर रास्वपा गठन हुँदाका संस्थापक मुकुल ढकाल रास्वपा महाधिवेशनमा छैनन् ।

चितवनमा रास्वपाको महाधिवेशन सुरु हुँदैछ । ढकाल आफू भक्तपुरमै रहेको बताउँछन् । ‘रास्वपाले निम्तो गरेन ?,’ अनलाइनखबरको प्रश्नमा ढकालले ‘निम्तो नआएको’ प्रतिक्रिया दिए ।

तथापि, रास्वपा महाधिवेशनले सही कार्यदिशा, सही विचार र सही निर्णय गरोस् भन्ने आफ्नो शुभकामना रहेको उनले सुनाए ।

चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु हुँदै गर्दा ढकालले सामाजिक सञ्जालबाट समेत पार्टी स्थपापनाको समय स्मरण गरेका छन् ।

‘ठीक चार वर्षअघि आजकै दिन हामीले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थियौँ’ उनले लेखेका छन्, ‘पार्टी दर्ताका लागि आवश्यक ५०० वटा नागरिकता जुटाउनसमेत संघर्ष गर्नुपरेको त्यो अवस्थाबाट छोटो समयमै पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुगेको छ ।’

रास्वपा स्थापनाको संघर्षका दिनहरू इतिहासमा लेखिए वा लेखिएनन् त्यो आफूलाई थाहा नभएको भन्दै उनी थप्छन्, ‘ती दिनहरूमा प्रत्यक्ष बाँचेका हामी प्रत्येकको मानसपटलमा त्यो इतिहास सधैँ जीवन्त रहनेछ ।’

विगतका रास्वपाको समेत आलोचना गर्ने बालेन्द्र शाह (बालेन) रास्वपाकै तर्फबाट प्रधानमन्त्री बनेको पनि ढकालले स्मरण गरेका छन् । यहाँनेर उनले रास्वपाले महाधिवेशनमा उपस्थितिका लागि आफूलाई आमन्त्रण नगरेको पनि बताएका छन् ।

‘पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिँन’, उनी भन्छन्, ‘मेरो भौतिक शरीर आज चितवनमा छैन । भएको भए पनि करिब ४००० प्रतिनिधिहरूमध्ये एक जना प्रतिनिधि थपिन्थ्यो मात्र ।’

तर राजनीति गर्ने व्यक्तिका लागि शरीर कहाँ उपस्थित छ भन्नेभन्दा उसका विचार, मूल्य र सिद्धान्तले कति स्थान ओगटेका छन् भन्ने कुरा बढी महत्त्वपूर्ण हुने उनले बताएका छन् ।

‘महत्वपूर्ण कुरा म उपस्थित छु कि छैन भन्ने होइन । महत्वपूर्ण कुरा महाधिवेशनले के निर्णय गर्छ भन्ने हो’ उनी भन्छन्, ‘म आशा गर्दछु, यो महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित हुने छैन । को कुन पदमा जित्यो वा हार्यो भन्नेभन्दा ठूलो प्रश्न पार्टीले कुन दिशा रोज्छ भन्ने हो ।’

पद वा व्यक्तिमा सीमित हुनु राजनीति नभएर राजव्यक्ति गर्नु रहेको पनि उनले बताएका छन् ।

‘राजनीति भनेको राज्य सञ्चालनका नीति, सिद्धान्त, विचार र कार्यदिशामाथिको बहस हो’, रास्वपाका महाधिवेशन प्रतिनिधिहरूलाई ढकालको शुभकामना छ, ‘तपाईंहरूलाई मेरो आग्रह छ, व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस् । राजव्यक्ति नगर्नुहोस्, राजनीति गर्नुहोस् ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार