काठमाडौं । घुस लिँदै गर्दा पक्राउ परेका महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध मुद्दा दायर भएको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख–हैरानी दिँदै यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए ।
उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट सडक ढलान योजनाको सम्झौताअनुसारको काम सम्पन्न भइसकेपछि पनि भुक्तानी रोक्दै विभिन्न कारण देखाएर सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत ७२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको माग गरेको छ।




प्रतिक्रिया दिनुहोस्