धनगढीको ‘शैक्षिक हब’ यात्रा: सुदूरपश्चिमदेखि कर्णालीसम्मका विद्यार्थीलाई नगरको साथ

धनगढी – धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११–१२ मा अध्ययनरत विद्यार्थीलाई प्रदान गरेको छात्रवृत्तिले सुदूरपश्चिमका नौवटै जिल्ला र कर्णाली प्रदेशसम्मका जेहेन्दार विद्यार्थीलाई समेटेको छ। उपमहानगरका मेयर गोपाल हमालको नेतृत्वमा सञ्चालित ‘गुणस्तरीय शिक्षामा पहुँच’ कार्यक्रमअन्तर्गत यस वर्ष ३५४ विद्यार्थीले आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउने अवसर पाएका छन्।

एसईई परीक्षाको नतिजाका आधारमा पारदर्शी रूपमा तयार पारिएको मेरिट सूचीअनुसार छात्रवृत्ति वितरण गरिएको हो। उपमहानगरले आर्थिक अवस्था कमजोर भएका तर उच्च अंक हासिल गरेका विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययनको ढोका खोलिदिएपछि दुर्गमका विद्यार्थीमा नयाँ आशा पलाएको छ।

छात्रवृत्ति पाउने विद्यार्थीमध्ये सबैभन्दा बढी कैलाली जिल्लाका १६९ जना रहेका छन्। त्यसैगरी, बझाङका ४८, डोटीका ३२, बैतडीका २८, अछामका २४ र बाजुराका २१ जना विद्यार्थीले यो अवसर पाएका छन्। त्यस्तै कञ्चनपुरका १६, डडेल्धुराका ८, दार्चुलाका ५ र कर्णाली प्रदेशको कालिकोट जिल्लाका १ जना विद्यार्थी पनि उपमहानगरको छात्रवृत्तिमा छनोट भएका छन्।

जिल्लागत रूपमा हेर्दा कैलालीपछि बझाङ र डोटीका विद्यार्थीको संख्या उल्लेखनीय छ। संकायगत छनोटमा विज्ञान संकायको दबदबा देखिए पनि व्यवस्थापन, कानुन, शिक्षा र होटल म्यानेजमेन्ट विषय रोज्ने विद्यार्थीको संख्या पनि उत्तिकै उत्साहजनक छ। सबैभन्दा बढी विद्यार्थी विज्ञान र व्यवस्थापन संकायमा छनोट भएका छन्।

नगरपालिकाले भूगोलको घेरा तोडेर दुर्गमका विद्यार्थीलाई समेत धनगढीमा ल्याएर गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति लिएको छ। मेयर हमालले शिक्षालाई उपमहानगरको प्रमुख प्राथमिकतामा राख्दै आएका छन्। छात्रवृत्ति छनोट प्रक्रियालाई पूर्ण रूपमा मेरिटका आधारमा अघि बढाइएकाले यसले शैक्षिक सुशासनको सन्देश दिएको स्थानीय शिक्षाप्रेमीहरू बताउँछन्।

आर्थिक अभावमा शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यतालाई चिर्न उपमहानगरले हरेक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। ३५४ विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययनको वातावरण मिलाएसँगै धनगढी उपमहानगर शैक्षिक हबका रूपमा थप स्थापित हुँदै गएको छ। छनोट भएका विद्यार्थीले तोकिएका संस्थागत विद्यालयमा निःशुल्क वा सहुलियत दरमा अध्ययन गर्न पाउनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार