अनुमति बिना सञ्चालित ‘मारिया हस्पिटल’ सिलबन्द, तीन चिनियाँ चिकित्सकको दर्ता निलम्बन

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले काठमाडौंको बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रालि) लाई बिना अनुमति सञ्चालन गरेको तथा विदेशी चिकित्सकमार्फत अवैध रूपमा स्वास्थ्य परीक्षण गराएको भेटिएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलले स्थलगत अनुगमनका क्रममा उक्त स्वास्थ्य संस्था आवश्यक अनुमति तथा क्लिनिकल मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाइएको जनाएको छ। साथै विदेशी चिकित्सकहरूबाट गैरकानुनी रूपमा बिरामी परीक्षण गराइएको समेत भेटिएको काउन्सिलको निष्कर्ष छ।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार चिकित्सा अभ्यासमा संलग्न तीन जना चिनियाँ नागरिकको अस्थायी दर्ता (एफएनडी) तत्कालका लागि निलम्बन गरिएको छ।

त्यस्तै, संस्थाको बोर्डमा नाम राखी काउन्सिलको आचारसंहिता उल्लंघन गरेको आरोपमा संलग्न नेपाली चिकित्सकहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

काउन्सिलले उक्त संस्थालाई तत्काल भौतिक रूपमा बन्द (सिलबन्दी) गर्न तथा सञ्चालकहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको जनाएको छ।

यस्तै, भिसाको सर्त विपरीत कार्य गरेको भन्दै ती विदेशी नागरिकहरूको गैर–पर्यटकीय भिसा र श्रम स्वीकृति खारेजीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइएको काउन्सिलले जनाएको छ।

काउन्सिलले बिना अनुमति सञ्चालन भइरहेका स्वास्थ्य संस्था वा दर्ता नगरी लुकिछिपी बिरामी परीक्षण गर्ने चिकित्सकहरूको जानकारी भए प्रमाणसहित काउन्सिल वा स्थानीय प्रशासनमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने पनि काउन्सिलले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार