नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका महावीर पुनका लागि मन्त्रालयको कार्यकक्ष तयार गरिएको छ ।
यसअघि युवा तथा खेलकुद मन्त्रालयका रूपमा प्रयोग हुँदै आएको कार्यकक्ष सरसफाइ गरी तयारी अवस्थामा राखिएको छ । मन्त्रालय रहेको भवनमा अहिले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’को बोर्ड समेत राखिएको छ ।
मन्त्रालयमा हाल साविक युवा तथा खेलकुद मन्त्रालयकै कर्मचारी कार्यरत रहेका छन् । कर्मचारीहरूका अनुसार मन्त्रालयको संरचना तथा जनशक्ति व्यवस्थापनबारे शिक्षा मन्त्रालयसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको छ ।
नयाँ मन्त्रालय स्थापना भएसँगै प्रशासनिक संरचना, कर्मचारी व्यवस्थापन तथा कार्यविभाजनका विषयमा आन्तरिक तयारी अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।
पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्न प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेका छन् ।
उनीसँगै पुन: गृहमन्त्रीका रूपमा फर्किएका सुधन गुरुङको मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ हुनेछ ।




प्रतिक्रिया दिनुहोस्