काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले मधेशकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन् । सोमबार माइतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनमा सम्बोधन गर्दै उनले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेशका मागप्रति अनुदार हुने गरेको बताए ।
मधेशबाट मत लिएर सरकार बनाउने तर मधेशका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको उनको आरोप थियो । राणा शासनकालमा मधेशमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै उनले पछिल्ला ७५ वर्षमा कांग्रेस र कम्युनिस्ट दलहरूले पनि मधेशलाई विभिन्न रूपमा ठग्दै आएको बताए । सशस्त्र द्वन्द्वका क्रममा पनि मधेशी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै उनले माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेशीहरू ठगिएको भनाइ राखे । मधेशको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उनको दाबी छ ।
‘मधेशलाई राणाहरुले पनि ठगे, उपनिवेश शासन नै लादे, कांग्रेस कम्युनिस्टहरुले पनि ७५ वर्षदेखि ठग्दै आएको हामीकहाँ प्रमाण नै छ,’ उनले भने ।
उनले मधेशका माग सम्बोधन गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् । मधेशको माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यलयमार्फत सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने उनले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्