काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ ३१ गते उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय भ्रमण सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएको भोलिपल्ट नै उनको चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको हो।
मन्त्री खनालको सचिवालयले दिएको जानकारी अनुसार चीन भ्रमणका क्रममा उनले असार १ र २ गते बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। सो क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ हाइसिङसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा दुई देशबिचको कूटनीतिक सम्बन्ध, आपसी सहयोग र आपसी हितका विविध विषयमा छलफल हुनेछ। आफ्ना सबै औपचारिक कार्यक्रमहरू सकेर परराष्ट्रमन्त्री खनाल असार ३ गते (१७ जुन) स्वदेश फर्किने कार्यसूची रहेको छ।
यसअघि, परराष्ट्रमन्त्री खनाल भारतको आफ्नो तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार साँझ मात्र काठमाडौँ फर्किएका हुन्। भारत भ्रमणका क्रममा उनले आफ्ना समकक्षी एवं भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग नयाँ दिल्लीमा कूटनीतिक, आर्थिक सहकार्य तथा थाती रहेका सीमासम्बन्धी विषयहरूमा गहन र महत्त्वपूर्ण छलफल गरेका थिए। भारत लगत्तै हुन लागेको परराष्ट्रमन्त्रीको यो चीन भ्रमणलाई कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्