निलो क्रान्ति धेरै टिक्दैन, अबको विकल्प हरित क्रान्ति : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’को लहर धेरै समय नटिक्ने टिप्पणी गरेका छन् ।

देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ मात्रै अन्तिम र भरपर्दो विकल्प भएको उनले बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घिसिङले मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङको क्रान्तिका रूपमा चित्रण गर्दै अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताए ।

उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको उनको भनाइ छ । पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ले शक्तिको सञ्चार गर्नुले पनि यो अवधारणालाई पुष्टि गर्ने उनको तर्क छ ।

हरित क्रान्तिको व्याख्या गर्दै उनले सुशासनलाई यसको केन्द्रबिन्दु मानिएको बताए । सुशासनका अतिरिक्त जलस्रोतको अधिकतम उपयोग गरी जलविद्युत् उत्पादन, हरित हाइड्रोजन र हरित युरियाको उत्पादनलाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उनले बताए ।

यस्तो छ घिसिङको भनाइ :

उज्यालो नेपाल पार्टीको एउटा प्रमुख उद्देश्य नेपालमा हरित क्रान्ति गर्नु हो । हामी नेपालमा ‘ग्रिन रिभोल्युसन’ ल्याउने अभियानमा छौँ । विगतमा विभिन्न क्रान्तिका नाममा अनेकौँ राजनीतिक परिवर्तन भए । कसैले त्यसलाई श्वेत क्रान्ति भने, कसैले रातो क्रान्ति । यदि १० वर्षे जनयुद्धपछिको परिवर्तनलाई रातो क्रान्ति भनेर नामाकरण गर्ने हो भने, केही समयअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अभियानलाई निलो क्रान्ति (ब्लु रिभोल्युसन) भनेर प्रस्तुत गर्‍यो । तर, निलो क्रान्ति धेरै समय टिक्दैन । अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति अर्थात् ग्रिन रिभोल्युसन हो । यसले नेपाललाई दिगो रूपमा संस्थागत गर्छ, दिगो विकासको आधार तयार गर्छ, र देशमा राजनीतिक स्थायित्व कायम गर्न मद्दत गर्छ । त्यसैले नेपालको दिगो विकास र दिगो राजनीतिक स्थायित्वका लागि अब आवश्यक क्रान्ति भनेको हरित क्रान्ति नै हो र यो हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्छ ।

उज्यालो नेपाल पार्टीको झण्डा हरियो छ र पार्टीको चुनाव चिह्न ‘चिम’ ले शक्ति प्रदान गर्ने सन्देश दिन्छ । त्यसैले हरित क्रान्तिको अवधारणा हाम्रो पार्टीको मूल दर्शनसँग जोडिएको छ । हरित क्रान्ति भनेको के हो ? यसको मुख्य आधारभूत विषय सुशासन हो । हामीले सुशासनलाई हरित क्रान्तिको केन्द्रबिन्दु मानेका छौँ । यसका विभिन्न आयामहरू छन् । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण क्षेत्र पानी हो । पानीबाट हामी जलविद्युत् उत्पादन गर्न सक्छौँ । पानीकै माध्यमबाट हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ । हालैको बजेटमा हरित हाइड्रोजन र हरित युरिया सम्बन्धी केही विषय समेटिएका छन् । यी विषयहरू हामीले पहिले नै आफ्नो घोषणापत्रमा समावेश गरेका थियौँ । सरकारको बजेटमा ती विषयहरू केही मात्रामा समेटिएको देख्दा म सम्बन्धित पक्षलाई धन्यवाद दिन चाहन्छु । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार