लिङ्देनलाई ज्ञानेन्द्रको चुनौती- युवालाई नेतृत्व छाड्नुस् नत्र महाधिवेशन हार्नु हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दल नेता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनबाट अब पार्टी चल्न नसक्ने निष्कर्षमा आफूहरू पुगेको बताएका छन्।

लिङ्देनलाई ५ वर्षदेखि अध्यक्ष मान्दै उनले गरेका हरेकजसो निर्णय स्वीकार गर्दै आएको बताएका शाहीले अब लिङ्देनबाट पार्टी नचल्ने देखिएकाले नेतृत्व छाडेर संरक्षक बस्नु उपयुक्त हुने बताएका हुन्।

राप्रपाभित्र अध्यक्ष लिङ्देनको कार्यशैलीलाई लिएर नेताहरूले प्रश्न उठाइरहेका छन्। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावलगत्तै र हालै महामन्त्री धवल शम्शेर राणाले पार्टी परित्याग गरेका छन् भने केही केन्द्रीय सदस्यहरूले पनि पार्टी छाडेको घोषणा गरेका छन्।

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने भए पनि त्यसतर्फ अध्यक्ष लिङ्देनले भूमिका नखेलेको आरोप पनि छ।

पार्टी संसदीय दल नेता तथा प्रवक्तासमेत रहेका ज्ञानेन्द्र शाहीले पनि राप्रपा फुटतर्फ नजाओस् भन्ने आफूले चाहेको बताए।

‘पार्टी फुटतर्फ नजाओस् भन्ने हो, महाधिवेशन गरौं, जोसुकै व्यक्ति नेतृत्वमा आउन सक्छ र उसले पार्टीलाई थप एकताबद्ध बनाएर लैजान सक्छ भन्नेमा म छु,’ सेतोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘अहिलेका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा महाधिवेशन हुँदैन, कुनै पदमा नउठ्ने स्वतन्त्र व्यक्तिको संयोजकत्वमा महाधिवेशन गर्नुपर्छ।’

लिङ्देनको नेतृत्वमा महाधिवेशन गरे त्यो निष्पक्ष नहुने उनको भनाइ छ।

महाधिवेशन प्रतिनिधि छनोट गर्दा जिल्ला-जिल्लामा अध्यक्ष लिङ्देनले आफ्ना मानिसहरूलाई मात्रै ल्याएको तथा युवाहरूलाई ठाउँ नदिएको आरोप उनको छ।

‘राजेन्द्र लिङ्देन अध्यक्ष नै रहिरहे भने उनको नेतृत्वमा महाधिवेशन हुँदैन, उनीहरूले असल मानिसलाई जिल्लाबाट प्रतिनिधि आउनै दिँदैनन्, म राप्रपामा नयाँ-नयाँ नै हो, उनीहरूको सोच नै पुरानो छ, आफ्ना मानिस बाहेकलाई इन्ट्री नै गर्न नदिने अवस्था छ,’ शाहीले भने।

अध्यक्ष लिङ्देनबाट अब पार्टी सञ्चालन हुने अवस्था नरहेको भन्दै उनले मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

‘अहिलेको परिस्थितिमा अध्यक्षले युवाहरूलाई नेतृत्व दिएर जाने हो, मार्गप्रशस्त गर्ने हो, सधैं पदमै टाँसिएर बस्नुपर्छ भन्ने पनि छैन, बरू संरक्षक बस्ने कि के बस्ने सल्लाह गर्ने हो, उहाँ आफै फेरि महाधिवेशन तयारी गर्नुहुन्छ भने उहाँले महाधिवेशन फेस गर्नुपर्छ, उहाँले अब महाधिवेशन जित्नुहुन्न, हार्नुहुन्छ,’ शाहीले चुनौती दिँदै भने।

यतिन्जेल लिङ्देनलाई अध्यक्ष मानेको र निहुँ नखोजिएको पनि उनले बताए।

‘पार्टी अब राजेन्द्र दाइको नेतृत्वमा चल्दै चल्दैन, सत्य यही हो। हामी पार्टीभित्र उहाँलाई अध्यक्ष मानौंला तर जनताले भोट दिँदैनन्, त्यो भएकोले हामीहरूले पार्टीको भविष्य हेर्दै निर्णय लिनुपरेको छ,’ शाहीले भने, ‘अहिले राजेन्द्र दाइलाई अध्यक्ष मान्न कुनै समस्या होइन तर हामीले मात्रै मानेर भएन, जनताले विश्वास गर्नुपर्‍यो, पूरै पुस्तान्तरणमा गइसक्यो।’

पहिला नै असफल भएको नेतृत्वलाई अब महाधिवेशनबाट पुन: अनुमोदन नगरिने उनले बताए।

‘अब पुस्तान्तरण आवश्यक छ, सबै मिलेर पार्टीलाई बलियो बनाऔं भन्ने हो। यसमा उहाँले साथ दिनुहुन्छ भने सँगसँगै मिलेरै जाने भन्ने कुरा रह्यो, होइन भने उहाँले महाधिवेशन फेस गर्नुपर्छ,’ उनले भने।

पार्टीभित्र विवाद बढेपछि पछिल्ला तीन-चार दिनदेखि आफूले मिलाउन नेताहरूलाई फोन गरे पनि बेवास्ता गरिएको उनको भनाइ छ।

‘विगत तीन, चार दिनदेखि म निरन्तर छलफलमा छु, एउटालाई फोन गर्‍यो उठाउँदैनन्, अर्कोलाई भेट्यो फिस्स दाँत देखाएर निस्कन्छन्, यो जुँगाको लडाइँले हामीजस्ता युवाहरूको भविष्य बरबाद गर्ने लाइनमा नेतृत्व र महामन्त्री धवल शम्शेर समूह गइरहेका छन्, यसले कसैको पनि भलो हुनेवाला छैन,’ उनले भने, ‘यो आरोपप्रत्यारोपले मुलुकभर राष्ट्रवादी शक्ति अघि बढ्दैन, फुटेर अघि बढ्ने कसैको सोच छ भने त्यो भ्रम हो, नेतृत्वले पनि काम गर्छु भन्ने नगर्ने, नाटक गर्ने। कसैलाई चुनाव नलडेर सांसद र पार्टी पदाधिकारी बन्न परेको छ, जालो र गुट बनाउने रोग राप्रपामा छ।’

राप्रपाभित्रको यस्तो प्रवृत्ति हटाउनुपर्छ भन्ने लाग्नेहरूले पार्टी परित्याग गर्न नहुने र महाधिवेशनबाट सिंगो केन्द्रीय कार्यसमिति नै नयाँ बनाएर जाने पनि शाहीको अपिल छ। ‘कहिलेसम्म नेताहरूको झगडा मिलाउने, वाक्क भइसक्यौं,’ उनले भने, ‘कति पटक यिनीहरूका घर धाउने र हजुर हजुर भन्ने? अब अध्यक्षको नेतृत्वमा महाधिवेशन हुँदैन, महाधिवेशन आयोजक समितिले महाधिवेशन गर्छ।’

उनले पार्टीभित्र गठबन्धन नगरी जित्ने युवा मानिसहरू पनि रहेको बताए। ‘हाम्रो पार्टीबाट संघीय संसदमा जम्मा ५ सिटको प्रतिनिधित्व छ, यहाँ १८२ सिट ल्याएकाहरू मिलेर गइरहेका छन्, लिङ्देन र धवल शम्शेर किन मिल्न नसक्ने?,’ उनले भने, ‘हामी एकजुट हुनुपर्छ, कार्यकर्ताहरूले तलमाथि नगरिदिनुहोला, महाधिवेशनमा डटेर जाने हो।’

अध्यक्ष राजेन्द्र लिङ्देनले भने जेठ मसान्तको केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने बताएका छन्। पार्टीभित्र गुट बनाएर नेतृत्वमाथि घेराबन्दी गरिएकाहरूलाई कारबाही गरिएको उनले बताउने गरेका छन्। 

पछिल्ला दिनमा अध्यक्ष लिङ्देनमाथि नेताहरूबाट विभिन्न आरोप लाग्ने गरेकोमा प्रवक्ता मोहन श्रेष्ठले ‘लिङ्देनले के अपराध गरे’ भन्दै कटाक्षसमेत गरेका छन्।

‘गोरखाबाट हेर्दा काठमाण्डौंमा राप्रपा पंक्ति तरंगित भइरहेको देख्छु र सोच्छु- राजेन्द्र लिङ्देनले त्यस्तो के अपराध गरे जसका कारण साथीहरु उद्धेलित भइरहेका छन्। राजाको फागुन ६ गतेको वक्तव्यको गलत व्याख्या गर्दै, गलत भाष्य बनाउँदै राप्रपा निर्वाचनमा सहभागी हुनुहुन्न भन्ने राजनीतिक ठगको घेराबन्दीबाट बाहिर निस्केर राप्रपालाई ‘डेमोक्रेटिक फ्रेमवर्क’ भित्र राख्न राजेन्द्र लिङ्देन सफल भएका हुन्, पार्टी जोगाएका हुन्,’ उनको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार