धनगढीमा सवारी भाडा नतिरेको भन्दै ठूलो विवाद सार्वजनिक भएको छ। सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि सर्वसाधारणको गाडी प्रयोग गरी भाडा नतिरेको आरोप लागेको छ।
दार्चुलाका विष्णु विष्टले आफ्नो स्कार्पियो गाडी २०८० जेठदेखि भदौसम्म दुई महिनासम्म प्रयोग गरिएको भए पनि सहमतिअनुसारको करिब दुई लाख रुपैयाँ भाडा अहिलेसम्म नपाएको दाबी गरेका छन्। मासिक एक लाख रुपैयाँ भाडा दिने सहमतिमा गाडी उपलब्ध गराइएको भए पनि रकम भुक्तानी नभएको उनको भनाइ छ।
विष्टका अनुसार मन्त्री पालकै आग्रहमा गाडी पूर्व मुख्यमन्त्री रावलको प्रयोगका लागि दिइएको थियो। तर पछि सम्झौतासम्बन्धी लिखित कागज नगरेको भन्दै रकम नतिरेको बताइएको छ।
उता, रकम माग गर्दा पूर्व मुख्यमन्त्री रावलले आफूले कुनै सम्झौता नगरेको प्रतिक्रिया दिएका छन् भने मन्त्री पालको फोन सम्पर्क हुन सकेको छैन।
विष्टले एमालेका अन्य नेताहरूले पनि चुनावी र पार्टी गतिविधिमा गाडी प्रयोग गरी भाडा नतिरेको आरोप लगाएका छन्। उनका अनुसार कुल पाँच लाख रुपैयाँभन्दा बढी रकम अझै उठ्न बाँकी छ।
उनले केही स्थानीय नेताहरूबाट पनि ठूलो मात्रामा भाडा रकम बाँकी रहेको दाबी गरेका छन्। सम्बन्धित व्यक्तिहरूले भने केही रकम तिर्न बाँकी भए पनि अवस्था अनुसार मिलाउने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन्।
यो विषयले स्थानीय स्तरमा राजनीतिक विवाद चुलिएको छ।





प्रतिक्रिया दिनुहोस्