नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको बताउँदै तत्काल संसद्मा माफी माग्नुपर्ने अडान लिएको छ।
एमाले सांसद ऐन महरले मंगलबार सिंहदरबारस्थित संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी दिएको बयानप्रति आपत्ति जनाउँदै उक्त शब्दहरू संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान राखेका हुन्।
सांसद महरले प्रधानमन्त्रीको बोलीले मुलुकको सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर आँच पुर्याएको बताए।
‘नेपालले न त कसैको भूमि मिच्न सक्छ, न आफ्नो एक इन्च भूमि नै कसैलाई मिच्न दिन्छ,’ उनले भने, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले संसद्मा उभिएर नेपालले पनि छिमेकीको भूमि मिचेको छ भन्नु लज्जास्पद र राष्ट्रको अहितमा छ।’
यसअघिको संसद् बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सीमा विवादका सन्दर्भमा बोल्दै नेपालले पनि भारतीय भूमि मिचेको आशयको अभिव्यक्ति दिएका थिए।
सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दललगायत अन्य विपक्षी शक्तिहरूले निरन्तर विरोध जनाउँदै आएका छन्। सांसद महरले प्रधानमन्त्रीले आफ्ना शब्दहरू फिर्ता नलिएसम्म र संसद्को रेकर्डबाट ती राष्ट्रघाती भनाइहरू नहटाएसम्म सदनमा विरोधको कार्यक्रम जारी रहने चेतावनी दिए।
प्रधानमन्त्रीको उक्त बयानले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिगार्ने र वर्षौँदेखि सीमा समस्या समाधानका लागि भइरहेका कूटनीतिक र प्राविधिक प्रयासहरूलाई कमजोर बनाउने एमालेको तर्क छ।
‘प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ र ती शब्दहरू संसद्को आधिकारिक रेकर्डबाट हटाइनुपर्छ,’ महरले थपे, ‘हाम्रो सार्वभौमसत्ता र संविधानका विषयमा हामी कुनै पनि हालतमा सम्झौता गर्दैनौँ।’
महरले आफ्नो कुराकानीका क्रममा संसद्लाई मर्यादित र जिम्मेवार बनाउन प्रधानमन्त्रीले नै अग्रसरता देखाउनुपर्ने बताए। ‘नेपालको आधिकारिक नक्सा र ऐतिहासिक तथ्यहरूलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले दिएको यो अभिव्यक्तिले कसलाई फाइदा पुग्छ ?’ उनले प्रश्न गरे।
एमालेले आगामी बैठकहरूमा पनि यो मुद्दालाई सशक्त ढङ्गले उठाउने र सरकारलाई जवाफदेही बनाउने योजना बनाएको छ।
यसैबीच, सांसद महरले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ भएको ‘रेड कार्पेट’ स्वागतलाई पनि संशयपूर्ण ढङ्गले हेर्नुपर्ने बताए।





प्रतिक्रिया दिनुहोस्