कैलाली – निर्माण व्यवसायी संघ कैलालीको आगामी निर्वाचनमा ई. किरण रावलले महासचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। संघको तय कार्यतालिका अनुसार वैशाख २४ र २५ गते हुने साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रावलले व्यवसायीहरूको अधिकार संरक्षण, पारदर्शी नेतृत्व र संघको संस्थागत मजबुतीलाई प्राथमिकतामा राख्दै आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै रावलले निर्माण व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या समाधान, नीतिगत सुधार तथा संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री बनाउने आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरे। साथै उनले व्यवसायीहरूबीच सहकार्य, एकता र व्यावसायिक सम्मान कायम गर्न आफू सदैव प्रतिबद्ध रहने बताएका छन्।
निर्माण व्यवसायी संघ कैलालीको निर्वाचन नजिकिँदै जाँदा व्यवसायीहरूबीच चुनावी माहोल समेत तातेको छ। विभिन्न पदमा आकांक्षीहरू सक्रिय भइरहेका बेला महासचिव पदमा रावलको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ।




प्रतिक्रिया दिनुहोस्