२० वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।
विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने गरेको उनले बताए ।
उनका अनुसार ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको अपवित्र सम्बन्ध अन्त्य गर्नेगरी सरकार अघि बढिरहेको छ ।
‘अर्थमन्त्रीको कुर्सीमा बसेर मैले यो देशमा भएको दोहन र लुटतन्त्रको रिपोर्टहरू पढ्दा कहिलेकाहीँ म सिरिङ्ग हुन्छु । मलाइ तपाईंहरूमध्ये धेरैलाई व्यक्तिगत रूपमा चिन्नुहोला, सँगै सामाजिक उठबस होला, तर नेपालका जनता विरुद्ध गरिएको त्यो स्तरको अपराध र लुट देख्दा म स्तब्ध हुन्छु । यो अब रोकिनुपर्छ,’ उनले भने ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारले नयाँ सुरुवातको संकेत दिन खोजिरहेको बताए ।
वाग्लेले विगतमा गल्तीहरू भएका भए ती गल्तीहरूलाई प्रश्रय नदिन निजी क्षेत्रलाई आह्वान समेत गरे । उनले अपराधीहरूको बचाउने प्रयास नगर्न चेतावनी दिए ।
‘यो ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको यो अपवित्र सम्बन्ध अब अन्त्य हुनुपर्छ । हामी एउटा नयाँ र स्वच्छ सुरुवातको संकेत दिन चाहन्छौं,’ उनले भने ।
यो वर्ष खिल निकाल्ने वर्षलाई स्मरण गर्दै वाग्लले यो प्रक्रिया केहीका लागि पीडादायी हुन सक्ने उनको भनाइ थियो । नेपालमा ऐन कानूनले गर्दा धेरै दुख पाएको व्यवसायीले बताएको सुनाउँदै उनले त्यस्ता ऐन कानूनहरु सुधारको बाटोमा सरकार अघि बढेको बताए ।
‘हामीले इमानदार उद्यमीहरूका लागि वातावरण बनाउने संकल्प गरेका छौँ— जसले स्वच्छ व्यवसाय गर्न चाहन्छन्, कर तिर्छन्, रोजगारी सिर्जना गर्छन् र सरकारी ढुकुटी भर्छन् ताकि हामी शिक्षा, स्वास्थ्य, ग्रामीण पहुँच र गरिबी निवारणमा लगानी गर्न सकौँ। आगामी दिनमा खेलको नियम यही हुनुपर्छ ,’ अर्थमन्त्री वाग्लेको भनाइ थियो ।
वाग्लेले निजी क्षेत्रमैत्री नीति र लगानीको वातावरणमा वर्तमान सरकार प्रतिबद्ध रहेको पनि बताए ।




प्रतिक्रिया दिनुहोस्