राप्रपाका सांसद खुश्बु ओलीले जीवित संसद् हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला भएको बताएकी छन्।
दुई तिहाइ नजिकको सरकारले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेको भए पनि भोलिपल्टै त्यसलाई स्थगन गर्ने निर्णय गरेको जिकिर गर्दै उनले यस्तो बताएकी हुन्। उनले स्पष्ट बहुमत भएको सरकारलाई संसद् छलेर अध्यादेशको बाटो रोज्नु पर्ने कारण के हो? भन्दै प्रश्न समेत गरेकी छन्।
‘दुई तिहाइ नजिकको सरकारले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेको थियो। तर, आह्वान गरेको भोलिपल्टै त्यसलाई स्थगन गर्ने निर्णय गरियो। आज संवैधानिक परिषद र सहकारीसम्बन्धी दुई वटा अध्यादेश अघि बढाइएको भनि जानकारी आएको छ,’ ओलीले सामाजिक सञ्जालमार्फत भनिन्, ‘जीवित संसद् हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो। स्पष्ट बहुमत भएको सरकारलाई संसद् छलेर अध्यादेशको बाटो रोज्नु पर्ने कारण के हो?’
सांसद ओलीले संवैधानिक परिषद जस्तो महत्वपूर्ण निकाय र सहकारी क्षेत्रजस्तो जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय संसद् छल्दै अघि बढाइनु उचित अभ्यास नभएको भनाइ राखिन्। उनले प्रतिपक्षको हैसियतमा, संसद् निष्क्रिय बनाउने यस्ता प्रवृत्तिको आफूले कडा विरोध गर्दै संसद् सशक्तीकरणको माग गरेकी छन्।
‘संवैधानिक परिषद जस्तो महत्वपूर्ण निकाय र सहकारी क्षेत्रजस्तो जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय संसद् छल्दै अघि बढाइनु उचित अभ्यास होइन,’ उनले भनिन्, ‘प्रतिपक्षको हैसियतमा, संसद् निष्क्रिय बनाउने यस्ता प्रवृत्तिको म कडा विरोध गर्दै संसद् सशक्तीकरणको माग गर्दछु।’




प्रतिक्रिया दिनुहोस्