डोटी — सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित बडीकेदार मन्दिरमा यही वैशाख १६ र १७ गते विशेष मेला लाग्ने भएको छ। वैशाख शुक्ल पक्षको तृतीया र चतुर्दशीका अवसरमा आयोजना हुने यस मेलामा हरेक वर्षझैँ यस वर्ष पनि हजारौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
शिवधामका रूपमा चिनिने बडीकेदारमा केदारनाथ बाबाको स्वरूपमा पूजा गर्ने परम्परा रहिआएको छ। विशेषगरी सन्तान प्राप्तिको कामना लिएर आउने श्रद्धालुहरूले यहाँ पूजा गर्दा मनोकामना पूरा हुने विश्वास राख्ने गरेका छन्।
यस आस्थाका कारण सुदूरपश्चिमका विभिन्न जिल्ला, कर्णाली प्रदेशको दैलेख तथा भारतका उत्तरप्रदेश र उत्तराखण्डबाट समेत भक्तजन यहाँ पुग्ने गरेका छन्। जेठ महिनाको मेला, कात्तिक पूर्णिमा र महाशिवरात्रिमा पनि यहाँ ठूला धार्मिक उत्सव हुने गर्छन्, जहाँ भजनकीर्तन र दर्शनका लागि उल्लेख्य भीड लाग्ने गरेको छ।
बडीकेदार क्षेत्र पर्यटन विकास समितिका कार्यकारी अधिकृत गणेशराज जोशीका अनुसार यस वर्षको मेलाका लागि सबै तयारी पूरा भइसकेको छ। सहभागी भक्तजनका लागि भण्डारा तथा बसोबासको व्यवस्था मिलाइएको र इच्छुक व्यक्तिहरूलाई सहयोगका लागि आग्रह गरिएको उनले बताए।
कात्तिक महिनामा लाग्ने मेलामा दुई लाखभन्दा बढी श्रद्धालु सहभागी हुने गरेका छन्, जसले बडीकेदार क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गराउँदै लगेको स्थानीयको भनाइ छ।
हाल मन्दिर क्षेत्रमा आवश्यक खानेबस्ने तथा अन्य सुविधाहरू पर्याप्त नभएकाले सुधारका कामहरू अघि बढाइएको समितिले जनाएको छ। श्रद्धालुलाई सहज सेवा उपलब्ध गराउन पूर्वाधार विकास र व्यवस्थापन विस्तारका योजना सञ्चालनमा रहेको कार्यकारी अधिकृत जोशीले जानकारी दिए।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वले भरिपूर्ण बडीकेदार क्षेत्र डोटीको पहिचानका रूपमा क्रमशः स्थापित हुँदै गएको छ।




प्रतिक्रिया दिनुहोस्