पहिले बिरामी खोज्थे डाक्टर, अहिले डाक्टर खोज्दै बिरामी

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले डाक्टरहरुले बिरामी खोज्नुपर्ने अवस्था आउन थालेको दाबी गरेका छन्।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अनिवार्य अस्पतालमा रहनुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयनमा आएपछि डाक्टरले बिरामी खोज्नुपर्ने अवस्था आउन थालेको दाबी उनले गरे।

‘पहिले अस्पताल आउँदा डाक्टर नभेटिएको गुनासो व्यापक सुनिन्थ्यो। तर अचेल त्यस्तो छैन। दिउँदो ३ बजेपछि त डाक्टरले बिरामी खोज्नुपर्ने अवस्था पो आउन थाल्यो,’ डा.बगालेले भने।

भरतपुर अस्पतालले डाक्टरलगायत सम्पूर्ण कर्मचारीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्न अनिवार्य गरेको छ।

गत चैतमा अस्पतालको वार्षिकोत्सव कार्यक्रममा अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले अस्पतालमा ३ बजेपछि डाक्टर भेट्नै गाह्रो हुने बताएका थिए।

‘सरकारी अस्पतालका डाक्टरहरु कतिखेर ३ बज्छ भनेर घडी हेरेर बस्नुहुन्छ। ३ बजेपछि त भेट्नै गाह्रो हुन्छ,’ उनले भनेका थिए, ‘ओपिडीका डाक्टरहरु छिटो निस्कने बानी छ। त्यसले गर्दा बिरामीलाई उपचारमा समस्या भएको छ।’

अस्पतालले वैशाख २ गते सूचना जारी गरेर सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि साँझ ५ बजेसम्म ओपिडी सेवा सञ्चालन हुने जानकारी गराएको थियो। आइतबार बिहान साढे ९ बजेदेखि दिउँसो साढे १ बजेसम्म ओपिडी सेवा दिने उक्त सूचनामा उल्लेख छ।

सोमबारदेखि शुक्रबारसम्मको सेवा लिन बिहान ८ देखि साँझ ४ बजेसम्म टिकट लिन मिल्ने, आइतबार बिहान ८ देखि साढे १२ बजेसम्म टिकट लिन मिल्ने व्यवस्था अस्पतालले मिलाएको छ।

‘अझै पनि बिरामीहरु बिहानै आएर टिकटको लाइनमा बस्नुहुन्छ। अब खाना खाएर १२/१ बजेतिर आए पनि हुन्छ। डाक्टर ५ बजेसम्म भेटिन्छन्,’ मेडिकल सुपरिटेण्डेन्ट डा.बगालेले भने, ‘डाक्टरहरु तपाईलाई कुरेर बसेका हुन्छन्। ४ बजे टिकट लिए पनि सेवा पाइन्छ।’

हामीसँग अस्पतालमा भेटिएका केही चिकित्सकले बिरामी कुर्दै बस्ने गरेको प्रतिकृया दिएका थिए।

‘ओपिडीमा आएका बिरामी १२ बजे नै हेरेर सकियो। अब कोही टिकट काट्न आइहाल्छन् कि भनेर पर्खिरहेको छु,’ एक जना चिकित्सकले सेतोपाटीसँग भने, ‘५ बजेसम्म अस्पतालमै रहनुपर्ने नियममा कडाइ गरिएको छ। त्यसको पालना गरेको छु।’

उनले अस्पतालको नियममा कडाइ गरेजस्तै गरेर चिकित्सकहरुको तलब वृद्धिमा पनि ध्यान दिनुपर्ने बताए।

‘५० हजारभन्दा कम तलबमा डाक्टरहरुले काम गर्नुपरेको छ,’ चिकित्सकहरु भन्छन्, ‘निजी अस्पतालतिर नजाने वातावरण बनाउन सेवा, सुविधा पनि वृद्धि गर्नुपर्छ। गुणस्तरीय उपचार सेवा दिन कर्मचारीको मनोबल बढाउनुपर्छ।’

भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतका चितवनका सरकारी अस्पतालका चिकित्सकहरुमाथि निजी अस्पताललाई बढी समय दिने गरेको आरोप लाग्ने गरेको छ।

 डा.बगालेले वैशाखदेखि कर्मचारीहरुले तोकिएको समयमा काम गरे नगरेको नियमित अनुगमन गर्ने गरेको बताए।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सरकारी अस्पतालबाट ३ बजे नै डाक्टर निस्किएका कारण बिरामीले उपचार नपाई घर फर्कनपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँछन्।

उनले सरकारी अस्पतालमा बिरामीको हैसियत हेरेर व्यवहार गर्ने गरिएको, टोकन प्रणाली राम्रो नभएको, बहिरंग सेवामा जनशक्तिको व्यवस्थापन राम्रो नभएको, आन्तरिक र बाह्य रिफरलको राम्रो व्यवस्थापन नभएको गुनासो सुनिएको बताए।

साथै अस्पतालहरुले बीमा र नगदका बिरामीलाई फरक व्यवहार गरेको, अनावश्यक परीक्षणहरु गर्ने गरेको, विपन्नको उपचारमा राम्रो प्रबन्ध नगरेकोलगायतका गुनासोहरु धेरै सुनिएकाले यस्ता गुनासा नआउनेगरी काम गर्न निर्देशन दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार