काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।
त्रिविले अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा ३५ दिनको अल्टिमेटमसहित सूचना निकालेको थियो । त्रिविका एक अधिकारीले त्रिविको जग्गा प्रयोग गरेकाहरूलाई ३५ दिने अल्टिमेटम दिएर पत्राचार गरिएको जानकारी दिए ।
उनले भने, “हाम्रो अतिक्रमित जग्गा फिर्ता ल्याउने निर्णयअन्तर्गत पत्र काटेका छौँ । १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको छ । क्यानसँगको सम्झौता यही मसान्तबाट सकिँदै छ ।”
महेन्द्रकुमार थापाको संयोजकत्वमा गठित खोजबिन समितिले कीर्तिपुर परिसरभित्र र बाहिरका विभिन्न स्थानमा त्रिविको जग्गा अतिक्रमण भएको र प्राप्त हुनुपर्ने भाडासमेत नउठेको फेला पारेका थियो ।
प्रतिवेदनअनुसार, लेबोरेटरी माध्यमिक विद्यालय, नेपाल क्रिकेट संघ (क्यान), खानेपानी बोर्डलगायतले त्रिविको जग्गा उपभोग गरिरहेका छन् । त्यस्तै, नेपाल प्राध्यापक संघ केन्द्रीय समिति, नेपाल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति, कीर्तिपुर नगरपालिका, सार्वजनिक शौचालय र बस पार्कहरू पनि त्रिविको जग्गामा रहेका छन् ।
जसमध्ये क्यानसँगको सम्झौता यो वैशाखमसान्तमा सकिँदै छ ।
केही संस्थाहरूले त्रिविसँग आवश्यक स्वीकृति नलिई जबरजस्ती संरचनाहरू निर्माण गरिरहेका समितिको ठहर छ ।
त्रिवि, रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ क्यानलाई पनि पत्र काटेको हो । महाशाखाले सबै संघसंस्था तथा संगठनलाई ३५ दिनकै अल्टिमेटम दिएर पत्र काटेको छ ।
नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले अल्टिमेटमको पत्र आएको बताए । यसबारेमा थप बुझ्नुपर्ने उनको भनाइ छ ।
खोजबिन समितिको विश्लेषणअनुसार, त्रिविका पदाधिकारीहरू फेरिइरहँदा दाताहरूले दिएको सम्पत्तिको संरक्षणमा तदारुकता नदेखाउँदा विडम्बनापूर्ण स्थिति उत्पन्न भएको हो । प्रतिवेदनले कतिपय अवस्थामा भूमाफिया र उच्च राजनीतिक तहको संलग्नतामा विश्वविद्यालयको जग्गा दुरुपयोग भएको आशंका रहेको जनाएको छ । राजनीतिक नेतृत्वको मिलेमतोमा अतिक्रमणकारीलाई नै संरक्षण दिने गरिएको समेत प्रतिवेदनमा उल्लेख छ ।
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन २०८१ मा कीर्तिपुरमा मात्रै करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको औँल्याइएको छ ।




प्रतिक्रिया दिनुहोस्