काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छाडेर ‘कुलिङ पिरियड’ मा बसिरहेका पूर्वमन्त्री सुदन किरातीबीच राजनीतिक सहकार्य हुने लगभग पक्कापक्की भएको छ । हर्क र सुदनबीच विभिन्न चरणमा भएको छलफलले एकताको ढोका खोलेको हो । मोटामोटीरूपमा सहमति भइसकेको दुवै पक्षका नेताहरूले बताएका छन् ।
श्रम संस्कृतिका उपाध्यक्ष लोकनाथ चुँडालका अनुसार सहकार्यका लागि दुवै पक्ष तयार छ । तर, वैचारिक र सैद्धान्तिक विषयलाई स्पष्ट पार्ने सन्दर्भमा सघन छलफल भइरहेको छ । उनले भने, ‘दुवै पक्षबाट निरन्तर छलफल भइरहेको छ । सहकार्यको एकदमै नजिक पुगिसकेका छौँ ।’
भावनात्मक रूपमा पहिलेदेखि नै एक ठाउँमा भएकाले पनि एकताका विषयमा भएका छलफल निचोडउन्मुख भएको चुडालले बताए ।
‘उत्पादनमूलक समाजवादी अर्थव्यवस्थालाई अगाडि सारेर जाने विषयमा हाम्रो सहमति हुनसक्छ । हाम्रो पार्टीले गरिरहेको श्रमदान उत्पादनमूलक अर्थतन्त्रसँगै जोडिन्छ,’ चुडालले भने, ‘यी विषयलाई टुंगो लगाएर हामी एकताको प्रक्रियालाई औपचारिकता दिन्छौं ।’
पार्टी एकता हुँदा सुदनको सिंगो टीम नै श्रम संस्कृतिमा आउने चुडालले बताए । वरिष्ठ नेता दिएर पार्टीमा ल्याउने र कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने हल्लाबारे चुडालले थपे, ‘राजनीतिक संवाद टुंगो लागेर एकीकरण भइसकेपछि कुन नेता कहाँबाट लड्ने, के बन्ने भन्ने विषय गौण हो । पार्टी एकीकृत भएपछि बाँकी कुरा टुंगो लाग्दै जान्छ ।’
उनले थपे, ‘धेरैको चाहना हर्क र सुदनबीच एकता होस् भन्ने देखिन्छ । वैचारिक लाइन मिलेपछि उम्मेदावरको रूपमा अगाडि बढाउने विषय सामान्य हो ।’
बुझिए अनुसार सार्वजनिक जीवनमा प्रतिष्ठित मान्छेहरूलाई साक्षी राखेर हर्क र सुदनले मौखिक सहमति गरिसकेका छन् । प्रारम्भिक चरणमा सुदनको टीमबाट १५ जना केन्द्रीय सदस्य बन्नेछन् । तीन-चार जना पदाधिकारी बन्नेछन् भने सुदन वरिष्ठ नेता बन्नेछन् । पार्टी एकतालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन दुवै पक्ष सघन छलफलमा रहेको बताइन्छ ।
अहिले श्रम संस्कृतिमा २८ जना केन्द्रीय सदस्य छन् । बीचमा केही सदस्य थपिएका छन् । पार्टीको विधानले १३३ जना केन्द्रीय सदस्यको परिकल्पना गरेको छ । केन्द्रीय सभा सदस्यमा २०० जनाको परिकल्पना गरेको छ । केन्द्रीय सभासँग कार्यकारी निर्णय हुँदैन, तर ठूल्ठूला निर्माण यही कमिटीले गर्छ ।




प्रतिक्रिया दिनुहोस्