१० वैशाख, काठमाडौं । युवा अभियन्ताको नाममा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले कारबाहीको माग गरेको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अनावश्यक आरोप लगाई दुर्व्यवहार र गरिएको तथा उक्त घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले प्रचार गरिएको संघले जनाएको छ ।
चिकित्सकमाथि सामाजिक सञ्जालमार्फत दुर्व्यवहार र अपमानजनक व्यवहार भएको संघको ठहर छ ।
संघको विज्ञप्ति अनुसार जुम्लामा रहेको प्रतिष्ठान परिसरभित्र खाजा खाइरहेका चिकित्सकमाथि आफूलाई युवा अभियन्ता बताउने केही व्यक्तिहरूले दुव्र्यवहार गरेका थिए । ती व्यक्तिहरूले चिकित्सकहरूसँग अपमानजनक व्यवहार गर्नुका साथै आक्रमणको धम्की समेत दिएको संघले जनाएको छ । घटनाका क्रममा भिडियो खिची युट्युब, फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको र त्यसबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नकारात्मक प्रचार गरिएको संघको भनाइ छ ।
‘स्वास्थ्यजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बिना आधार आरोप लगाउने, सामाजिक सञ्जालमार्फत अपमानजनक सामग्री सार्वजनिक गर्ने र समाजमा भ्रम फैलाउने कार्य निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता गतिविधिले आम नागरिक र स्वास्थ्यकर्मीबीचको विश्वास कमजोर बनाउने मात्र होइन, स्वास्थ्य सेवा प्रवाहमै नकारात्मक असर पार्ने संघले जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि विभिन्न आरोप लगाउने र सार्वजनिक रूपमा अपमानित गर्ने प्रवृत्ति बढ्दै गएको छ । यस्ता कार्यले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल घटाउने र सेवाप्रवाहमा समेत असर पार्ने संघका महासचिव डा. सञ्जीव तिवारीले बताए ।
संघले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूमाथि आवश्यक छानबिन र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
साथै स्वास्थ्य संस्थाभित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।
‘स्वास्थ्यकर्मीको सम्मान र सुरक्षालाई सुनिश्चित गर्दै स्वास्थ्य सेवा प्रणालीप्रति आम नागरिकको विश्वास कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अराजक कार्यमा सलग्न व्यक्तिलाई हैदसम्म कारबाही हुनुपर्छ ।’




प्रतिक्रिया दिनुहोस्