काठमाडौं । श्रम संस्कृति पार्टीले संविधान संशोधनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले पार्टीको तर्फबाट संविधान संशोधन कार्याशालामा दिएको सुझावबारे जानकारी दिएका छन् ।
उनले संविधान संशोधनसम्बन्धी कार्यशाला २०८३ लाई प्रस्तुत प्रस्तावमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने उल्लेख गरेका छन् । साथै, सरकार गठन गर्दा निर्वाचित कार्यकारी प्रमुखले आफ्ना योग्य व्यक्तिहरूलाई समेटेर मन्त्रिपरिषद् गठन गर्नुपर्ने धारणा राखिएको छ ।
प्रस्तावमा मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिंगको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, व्यवस्थापिकाको भूमिकालाई स्पष्ट पार्दै सरकार सञ्चालनका कार्यविधि तथा कानुन निर्माण गर्ने, सरकारका कामको अध्ययन, मूल्यांकन र निगरानी गरी सुझाव दिने व्यवस्था हुनुपर्ने बताइएको छ। कार्यकारी प्रमुखको सीमांकन तथा निष्क्रियताको व्याख्या गर्नुपर्ने र आवश्यक परे संसदबाट महाभियोग पास गरी पदमुक्त गर्ने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ ।
पूर्ण समावेशी राज्य प्रणालीको अवधारणा अन्तर्गत सबै जातजातिका नागरिकलाई राज्यका सबै अंगमा सहभागी गराउने तथा राजनीतिक पददेखि सुरक्षा निकायसम्म समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने प्रस्तावमा जोड दिइएको छ ।





प्रतिक्रिया दिनुहोस्