काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने रौतहटको बौधीमाई नगरपालिका-७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुरको भोजपुर नगरपालिका-७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ बस्ने सप्तरीको सुरुंगा नगरपालिका-५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुरको महालक्ष्मी नगरपालिका-३ बस्ने भक्तपुरको सूर्यविनायक नगरपालिका-७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन्।
पक्राउ परेकामध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रुपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट सोमबार, मिथिलेशलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बाट शनिबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।




प्रतिक्रिया दिनुहोस्