काठमाडौँ । विवादास्पद व्यक्तिसँग साँठगाँठको आरोप लागेका गृहमन्त्री सुदन गुरुङले राजीनामा दिने तयारी गरेका छन् । गुरुङ निकट स्रोतका अनुसार आफूमाथि नैतिक रुपमा प्रश्न उठेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।
धितोपत्र कारोबार सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्ट समूहको लगानी भएको लघुबीमा कम्पनीमा संस्थापक सेयर रहेको भेटिएपछि गुरुङ विवादमा तानिएका थिए ।
विवादित व्यक्तिको साझेदार भएको भन्दै प्रश्न उठेपछि गृहमन्त्री गुरुङमाथि निष्पक्ष छानविन गर्नुपर्ने चौतर्फी माग उठेको थियो । नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले लगायतका दलका शीर्ष नेताहरुले समेत गुरुङमाथि छानविनको माग गरेका थिए ।
यसरी नैतिक रुपमै प्रश्न उठेपछि गुरुङ पदबाट राजीनामा दिन तयार रहेको स्रोतले बताएको छ । हाल गुरुङले राजीनामा दिने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र प्रमुख सल्लाहकारबीच छलफल गरिरहेको बताइएको छ ।
‘नैतिक रुपमा प्रश्न उठिसकेपछि राजीनामा दिन तयार छु ।’, गृहमन्त्री गुरुङको भनाइलाई उदृत गर्दै स्रोतले भन्यो, ‘राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्छु । निष्पक्ष छानविन होस् ।’
यद्यपि, उक्त विषयमा गृहमन्त्री गुरुङले सोमबार नै सामाजिक सञ्जाल (फेसबुक) मार्फत स्पष्टीकरण दिइसकेका छन् । उनले आफूले सेयरमा लगानी गरेको स्वीकार्दै उक्त लगानीको स्रोत ऋण भएको बताएका थिए ।




प्रतिक्रिया दिनुहोस्