काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान सकेको छ । उनीहरूको बयान लिने काम सकिएको विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले जानकारी दिए ।
“हामीले बयानको काम सकिसकेका छौँ । अब मुद्दा प्रक्रियाको तयारी हो,” उनले भने, “अब कहिले मुद्दा दर्ता गर्ने भन्नेबारे चाहिँ अहिले नै भन्न सकिने अवस्था छैन ।”
हाल थुनामा रहेका भट्ट गत चैत १५ गते पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर विभागले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको छ । हाल उनी प्रहरी प्रभाग सानेपाको हिरासतमा छन् ।
भट्ट पक्राउ परेपछि चैत २० मा व्यवसायी घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे । विभागले दुई दिनमै उनको बयान सकेर हाजिरी जमानीमा छाडेको छ । स्रोतका अनुसार भट्टको शंकास्पद कारोबारमा अग्रवाल जोडिएपछि उनलाई पक्राउ गरिएको हो ।
चैत २० मा पक्राउ परेका शंकर अग्रवाल चैत २२ मा थुनामुक्त भएका थिए । उनी थुनामुक्त भए पनि उनका छोरासमेत रहेका व्यवसायी सुलभ अग्रवाल प्रहरी हिरासतमा छन् । चैत २२ गते प्रकाउ परेका सुलभलाई हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।
सम्पत्ति शुद्धिकरणको अनुसन्धान लामो प्रक्रियामा हुने भएपछि उनीहरूलाई हाजिरी जमानीमा छाडेर मुद्दा दर्ता गर्नसक्ने कानुनी अधिकार समेत विभागलाई हुन्छ । तर, भट्ट र अग्रवालको सन्दर्भमा के गर्ने भन्ने निर्णय भइनसकेको महानिर्देशक ठाकुरको भनाइ छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा विभागलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानकै क्रममा पूर्वमन्त्री दीपक खड्का पनि पक्राउ परेका थिए । अहिले उनी भने थुनामुक्त भइसकेका छन् । सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले खड्कालाई थुनामुक्त गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।
विभागले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई समेत पक्राउ गर्न अनुमति लिइसकेको छ । विभागले उनीहरू बाहेक अन्य व्यवसायी तथा पूर्वउच्च तहका व्यक्तिको सम्पत्ति छानबिनको तयारी गरेको छ ।
त्यसो त सरकारले २०६२ साल यता राज्यको उच्च तहमा पुगेका व्याक्तिहरूको सम्पत्ति छानबिन गर्न अयोग नै गठन गरेको छ । सरकारले गत बिहीबार (वैशाख २) सर्वोच्च अदालतका पूर्वन्यायाधीस राजेन्द्र कुमार भण्डारीको नेतृत्वका आयोग नै गठन गरेको छ । आयोगले काम भने सुरु गरेको छैन ।
विवादमा गृहमन्त्री
सम्पत्ति शुद्धीकरणमा धमाधम अनुसन्धान भइरहँदा गृहमन्त्री सुधन गुरुङ पनि विवादमा तानिएका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा हिरासतमा रहेका दीपक भट्टको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री गुरुङको समेत सेयर रहेको खुलेपछि विवादमा तानिएका हुन् ।
यद्यपि, गृहमन्त्री गुरुङले आफ्नो सेयर लगानीबारे फेसबुक स्टाटसमार्फत जवाफ दिएका छन् । “मैले ऋिण गरेर सेयर खरिद गरेको हुँ । सेयर खरिद गर्नु कहिलेदेखि अपराध भयो ?” गुरुङले फेसबुकमा लेखेका छन् ।




प्रतिक्रिया दिनुहोस्