राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सङ्ख्यात्मक रूपमा सानो भए पनि आफूहरू संसद्मा चुप लागेर नबस्ने बताएका छन् ।
राष्ट्रियता र जनजीविकाका विषयलाई संसद्मा जोडदार ढंगले उठाउने उनले बताए । नयाँ सांसदलाई बधाई दिन राप्रपाले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाहीले संसद्मा जनजीविकाका विषय उठाउने बताएका हुन् ।
‘संसद्मा राप्रपाको ५ सिट मात्र छ, तर संसद्मा चुप लाएर बस्दैनौं, एजेन्डा रोस्ट्रमबाट उठाउँछौं,’ शाहीले भने, ‘भ्रष्टाचारको विरोध र जनजीविकाको विषय लिएर देशव्यापी आवाज उठाउँछौं ।’
शाहीले सरकारले सुशासनको पक्षमा चालेका कदमको समर्थन गर्ने बताए । उनले तराईका सीमावर्ती क्षेत्रमा सानो सामान ल्याउनेमाथि भइरहेको अभद्र व्यवहार गलत भएको बताए । ‘म गृहमन्त्रीलाई यहीबाट आग्रह गर्न चाहन्छु, पूजाआजाका लागि २ किलो चिनि र एकसरो कपडा ल्याउनेमाथि कुटपिट गरिएको छ, यो सरासर गलत छ । त्यस्तो काम बन्द गरियोस्,’ शाहीले भने ।
शाहीले चुनाव जितेको दिनदेखि आफू साझा व्यक्ति रहेको भन्दै जनताको पक्षमा काम गर्ने बताए ।




प्रतिक्रिया दिनुहोस्