नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले आज छलफल गरेर सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको छ।
शेखरको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान छलफल भएको थियो। शेखर भने विराटनगर रहेका कारण सहभागी थिएनन्।
नेता शेखरसँग समन्वय गरी निवर्तमान उपसभापति धनराज गुरूङले छलफल राखेका थिए। उक्त छलफलमा पूर्वमहामन्त्री शशांक कोइरालासहित उनी पक्षका नेता तथा सांसदहरू पनि उपस्थित थिए।
निवर्तमान उपसभापति धनराज गुरूङले शेखर र शशांक कोइराला पक्षबीच आज बिहान छलफल भएको र अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा लाग्ने निष्कर्ष निकालिएको सेतोपाटीलाई जानकारी दिए।
‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्नेहरूले न्यायलयको फैसला नमान्ने कुरा हुँदैन, हामी लोकतन्त्रवादीहरू स्वतन्त्र न्यायलयको फैसला स्वीकार गरिहाल्छौं, गर्दै आएको पनि हो,’ उनले भने, ‘यो पार्टीलाई अझ सुधार गरेर लैजाने जिम्मेवारीबोध हामी सबैलाई भएको छ। हामी पार्टीको बृहत्तर हित र एकताका पक्षमा लाग्छौं।’
आजको छलफलमा निवर्तमान उपसभापति गुरूङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलियालगायत सहभागी थिए।
छलफलले गगन थापा नेतृत्वलाई स्वीकार गरेर अघि बढ्ने पनि निष्कर्ष निकालेको छ। गत पुसमा विशेष महाधिवेशनबाट थापा सभापति भएका थिए। विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र शेखर तथा शशांक कोइराला पक्ष सहभागी भएको थिएन। सर्वोच्चले विशेष महाधिवेशनलाई मान्यता दिएको छ।
‘अदालतको फैसला स्वीकार गरिसकेपछि गगन थापा नेतृत्व अस्वीकार भन्ने कुरा रहेन नि!,’ गुरूङले भने, ‘हामी सबै पार्टीको बृहत्तर हितमा उभिने हो।’
उनले निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा आफूहरू सहभागी नहुने पनि बताए। हिजो खड्का निवासमा भएको छलफलमा पनि कोइराला पक्ष सहभागी भएको थिएन।




प्रतिक्रिया दिनुहोस्