बझाङ- बझाङको जयपृथ्वी नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको छ। २०८३ वैशाख २ गते एक विशेष कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको हो।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख सर्जन बहादुर थापाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा खोप समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधि, कार्यपालिका सदस्यहरू, जिल्ला अस्पताल बझाङ, स्वास्थ्य कार्यालयका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पूर्ण खोप घोषणा गर्नुअघि २०८२ माघ महिनादेखि पालिकाभित्र घरधुरी सर्वेक्षण सुरु गरिएको थियो। उक्त सर्वेक्षणका लागि ५५ जना महिला स्वास्थ्य स्वयंसेविका र ४० जना स्वास्थ्यकर्मी परिचालन भएका थिए। सर्वेक्षणका क्रममा प्राप्त तथ्याङ्क अनुसार:
– ० देखि १५ महिनासम्मका ३३० जना बालबालिका खोप तालिका अनुसार खोप लिइरहेको पाइएको थियो। सोही उमेर समूहका ३ जना बालबालिका खोप लगाउन छुटेको भेटिएपछि उनीहरूलाई तत्काल खोपको दायरामा ल्याइएको छ।
– १६ देखि २३ महिनासम्मका १७१ जना बालबालिकाले सबै प्रकारका खोपहरू पूर्ण रूपमा लगाएको पाइएको छ।
– २४ देखि ५९ महिनासम्मका ६५० जना बालबालिकाले पनि राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाइसकेको सुनिश्चित गरिएको छ।
पालिका खोप समन्वय समितिले सबै बालबालिकाहरूले खोप पाएको प्राविधिक सुनिश्चितता गरेपछि मात्र पालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरेको हो।
नेपालमा वि.सं. २०३४ सालमा ‘विस्तारित खोप आयोजना’का रूपमा सुरु भएको यो कार्यक्रम हाल राष्ट्रिय खोप कार्यक्रमका रूपमा विस्तारित छ। यो नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जनस्वास्थ्यको सबैभन्दा सफल कार्यक्रममध्ये एक मानिन्छ।
हाल जयपृथ्वी नगरपालिकामा १ जिल्ला अस्पताल, ५ स्वास्थ्य चौकी, ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र र ४ सहरी स्वास्थ्य केन्द्र गरी जम्मा १६ वटा स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन्। नगरपालिकाभर २१ वटा खोप केन्द्रहरूमार्फत प्रत्येक महिनाको १८ देखि २२ गतेसम्म नियमित खोप सेवा प्रवाह हुँदै आइरहेको छ।




प्रतिक्रिया दिनुहोस्