काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले ख्यालख्यालमै आफूलाई प्रधानमन्त्री घोषणा गरेको बताएका छन् ।
सोमबार दमकमा नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलक्षित यस्तो कटाक्ष गरेका हुन् ।
ओलीले भने, “बच्चालाई के हुने भनेर सोध्यो भने प्रधानमन्त्री पनि भन्छ, राष्ट्रपति पनि भन्छ । केही मान्छेलाई यस्तै लाग्यो प्रधानमन्त्री बन्ने भनेका छन् ।” प्रधानमन्त्री बन्न भिजन चाहिने उनको भनाइ छ ।
ओलीले देशमा शान्ति, सुशासन र विकास सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् । उनले देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरुले विशेष ख्याल गर्नुपर्ने बताए । उनले राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने, अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन नसक्ने पनि बताए ।
उनले भने, ‘नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले देश पहिले भन्छ । देशमा सुशासन र विकासका लागि लोकतान्त्रि प्रणाली र त्यस अन्तर्गतका प्रयासहरुलाई अगाडि बढाउनुपर्छ । राज्य संयन्त्रमाथि मात्रै जनता भरपर्यो भने, राज्य संयन्त्रमाथि मात्रै देशभक्त शक्तिहरु भर पर्यो भने, राज्य संयन्त्रमाथि मात्रै लोकतान्त्रिक शक्तिहरु भर परे भने प्रगतिवादी शक्तिहरु भर परे भने देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरु राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन ।’




प्रतिक्रिया दिनुहोस्