स्याङ्जा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खिम बहादुर थापा मगरले आफ्नो चुनावी सङ्कल्प पत्र सार्वजनिक गर्दै सुशासन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई प्रमुख एजेन्डाका रुपमा अघि सार्नुभएको छ ।
वालिङस्थित सिटीहलमा आयोजित कार्यक्रममा पार्टीका उम्मेदवार तथा केन्द्रीय सदस्य थापाले पूर्वाधार विकास, जलस्रोत उपयोग, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । थापाले सिद्धार्थ राजमार्गको डेडिकेटेड दुई लेनसहित स्तरोन्नति पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो राजमार्ग स्याङ्जाको आर्थिक समृद्धिको मेरुदण्ड हो । सुरक्षित र स्तरीय सडकबिना क्षेत्रीय विकास सम्भव छैन” । राजमार्ग स्तरोन्नतिले यातायात, समय र ढुवानी खर्च घट्ने तथा लगानीको वातावरण सुधार हुने उहाँको दावी छ ।
यसअघि कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा दुग्ध विकास संस्थानको कार्यकारीको जिम्मेवारी सम्हालिसकेका थापा मगरले आफ्नो प्रशासनिक अनुभवलाई विकासमा रुपान्तरण गर्ने दाबी गर्नुभएको छ । दोस्रो प्राथमिकतामा आँधीखोलामा जलाशययुक्त बहुउद्देश्यीय आयोजना निर्माण रहेको छ । थापाका अनुसार जलविद्युत उत्पादन, सिँचाइ विस्तार, बाढी नियन्त्रण र जलपर्यटन प्रवद्र्धनका लागि योजना अघि सारिएको हो । आँधीखोलालाई दीर्घकालीन आर्थिक स्रोतका रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो । त्यसैगरी “कालीगण्डकीको शिरदेखि तिरसम्म” नारासहित कालीगण्डकीमा मिनी पानीजहाज सञ्चालनको सम्भावना र डीपीआर तयार भइसकेको जानकारी पनि उहाँले दिनुभयो । नदी यातायात र जलपर्यटनमार्फत पहाड–तराई सम्बन्ध सुदृढ गर्ने लक्ष्य रहेको बताइएको छ ।
उहाँले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माण र कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने बताउनुभयो । संकल्प पत्रमा कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार, उत्पादन वृद्धि, कृषिमा आधारित उद्योग स्थापना, स्थानीय उत्पादनको बजारीकरण र युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम समेटिएका छन् । साथै स्वरेक मैदान, उत्तरबाहिनीधाम लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, आँधीखोला तटबन्ध निर्माण र ग्रामीण सडक स्तरोन्नति पनि प्राथमिकतामा राखिएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ मा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेसका भागवत प्रकाश मल्ल, एमालेका खिम बहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन् । संकल्प पत्र सार्वजनिक भएसँगै स्याङ्जा क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धा थप तीव्र बनेको छ ।




प्रतिक्रिया दिनुहोस्