केपीको तालमेल प्रस्तावले माधव-भीम बिच्किँदा पछि हटे प्रचण्ड

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच चुनावी तालमेल नहुने निश्चित भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारे सार्वजनिक टिप्पणी नगरे पनि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रष्टसँग एक्लै चुनावमा जाने बताइसकेका छन् ।

बिहीबार पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले तालमेलको सम्भावनालाई अस्वीकार गरेका हुन् ।

यसअघि ओली र प्रचण्डबीच सम्भावित चुनावी तालमेलबारे वार्ता भएको थियो । प्रचण्डले जुम बैठकलाई सम्बोधन गर्दै नेकपा एक्लैले निर्वाचन लडेर बहुमत हासिल गर्न सक्ने दाबी गरे ।

SHIKHAR COOL TECH

‘एमालेबाट तालमेलका लागि प्रस्तावहरू सूचना यहाँले पनि सुन्नुभयो होला । बाहिर हल्ला आएजस्तै तालमेलको प्रस्ताव आएको हो । तर, हामी सह-संयोजक कमरेड लगायत शीर्ष नेताहरूले घटनाक्रम नियाल्दा तालमेल नगर्ने निर्णयमा पुगेका छौँ’, बैठकमा प्रचण्डले ब्रिफिङ गरे, ‘हामी एकल बलमै बहुमत हासिल गर्न सक्छौँ । यही कुरालाई मध्यनजर गरेर हामी कोसैसँग चुनावी तालमेल गर्दैनौँ, एमालेसँग मिल्छ भन्ने भ्रममा नपर्नुहोला ।’

बैठकमा प्रचण्डले देशभर एमाले र नेकपाबीच तालमेल प्रस्ताव ओलीले नराखेको जानकारी गराए । ओलीले आफूलाई फाइदा हुने स्थानमा मात्रै तालमेलको प्रस्ताव राखेको प्रचण्डले बताए ।

विशेषतः झापा क्षेत्र नम्बर ५ र महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ २ मा सघाउन ओलीले आफूहरूलाई आग्रह गरेको प्रचण्डले बताएका थिए । त्यसपछि अन्य ठाउँमा एमालेले नेकपालाई सघाएर जाने प्रस्ताव आएको उनको दाबी थियो ।

माधवसहितले रोके तालमेल

बैठकमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता भीम रावल लगायत दोस्रो तहका नेता लगायतसँग एमालेको प्रस्तावबारे छलफल भएको थियो । निर्वाचन परिचालन कमिटीको बैठकपछि माधव-प्रचण्ड बसेर एमालेले निश्चित ठाउँमा राखेको तालमेल प्रस्तावबारे छलफल भएको थियो ।

छलफलका क्रममा माधवले विगतमा ओलीका गल्ती र धोकालाई सम्झाउँदै यही अवस्थामा तालमेल गरेर जान नसक्ने बताएका थिए । माधवले ओलीसँग तालमेल गरेमा ओली शक्तिशाली बन्ने र नेकपालाई घाटा लाग्ने उल्लेख गर्दै यो निर्वाचनमा आफ्नै बलमा नेकपा लड्नुपर्ने सुझाव दिए ।

‘संयोजक कमरेडले तालमेलबारे सहसंयोजक कमरेडलाई जानकारी गराउनुभएछ, उहाँले ओलीले विगतमा गरेका गल्ती र धोका सम्झाउँदै यो निर्वाचनमा ओलीसँग तालमेल गरेर जाने अवस्था भए नेकपालाई अझ घाटा लाग्ने सचेत गराएपछि दोस्रो तहका नेताले पनि तालमेलको विषय मान्नुभएन’, माधवनिकट नेताले खबरहबलाई भने, ‘ओली स्वार्थी छन् । झापा ५ मा निर्वाचन हार्ने भएपछि तालमेलका लागि गुहार मागेका हुन् । उनको चरित्रसँग हामी जानकार रहनुपर्छ । यहाँ झन् मभन्दा ओलीसँग भुक्तभोगी भएको मान्छे हो । हामीले ०७४ मा नेकपा विघठन भएको घाउ र हिजोअस्ति भर्खरै राष्ट्रियसभा निर्वाचनमा गरिएको घात र अपमानलाई सम्झनुपर्छ ।’

प्रचण्डले पनि आफूले तालमेलका लागि ओलीलाई वचन नदिएको बताउँदै यथास्थितिमा सहकार्य हुन नसक्ने सूचना दिएको माधवलाई जानकारी गराएका थिए । त्यसपछाडि माधव नेपाल लगायत नेताहरूले भीम रावल, झलनाथ खनाललगायत नेतासँग सुझाव लिएको स्रोतको दाबी छ । रावल र खनालले पनि एमालेसँग सहकार्य र तालमेल गरेर जाने अवस्था तत्काल नभएको बताएका थिए ।

‘देशमा अहिले ओली अलोकप्रिय छन । उनलाई हराउन राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण शक्ति झापा ५ केन्द्रित छ । उनलाई बचाउन नेकपा लागे हाम्रो हालत के हुन्छ ?,’ रावलले भनेका थिए, ‘नेकपाप्रतिको देशव्यापी लहर हेर्दा सम्मानजनक सिट ल्याउन कठिन छैन । जेन-जी आन्दोलनका आरोपीसँग सहकार्य गरी पार्टीलाई दूषित नबनाउन म संयोजक कमरेड र सहसंयोजक कमरेडलाई आग्रह गर्छु ।’

रावलले खबरहबसँगको कुराकानीमा पनि तालमेलको प्रस्ताव आए आफूले इन्कार गर्ने जानकारी दिए । उनले नेकपा देशैभरि लोकप्रिय पार्टी बनेकाले कसैसँग तालमेल आवश्यकता नभएको जिकिर गरे । हुन त नेकपा नेता झलनाथ खनाल पनि अहिले कसैसँग तालमेल भन्दा लोकतन्त्र, गणतन्त्रलाई रक्षा गर्न र संविधानलाई जोगाउन नेकपाले देशभर बहुमत ल्याउने उद्देश्यमा लाग्नुपर्ने बताउँछन् ।

उनी एमालेसँग तालमेलबारे आफूलाई जानकारी नभएको दाबी गर्छन् । देशको परिस्थिति हेर्दा एमालेसँग तालमेल गरेर जान नसकिने उनको पनि विश्लेषण छ । हुन त नेकपा सह-संयोजक माधव नेपालले पनि ओलीसँग तालमेल गरेर अगाडि बढेको खण्डमा नेकपाले पाउनुपर्ने सिट पनि गुमाउने बताउछन् ।

उनी तालमेलको प्रस्तावको विषयमा सांकेतिक जानकारी गराउँदै कसैले तालमेलको प्रस्ताव राखिहाल्दा नेकपा आत्तिएर तालमेल गर्ने पक्षमा नभएको जिकिर गर्छन् । उनी रगतसँग मुछिएका व्यक्तिहरूसँग तालमेल गर्ने पक्षमा नेकपा नरहेको दाबी गर्छन् ।

‘तालमेलको प्रस्ताव आयो आएन भन्ने कुरा मुख्य भएन, तर हामी रगतसँग मुछिएका व्यक्तिहरूसँग कुनै पनि हिसाबले तालमेल गरेर अगाडि बढ्दैनौँ’, नेपालले खबरहबलाई भने, ‘प्रचण्डजी र हाम्रो सहकार्य एकदम मजाले अगाडि बढिरहेको छ । यो सहकार्यलाई तोडमोड गर्न विभिन्न तत्वहरुले खेल्न सक्छन् भन्ने विषयमा पनि हामी सजग छौँ । अहिले हल्ला गरेका व्यक्तिबारे हामी सबैभन्दा धेरै जानकार छौँ । आफू सुरक्षित हुन मात्रै बाटो हेर्ने बानी अन्त्य हुनुपर्छ ।’

माधवले केही समयअगाडि खबरहबसँगको कुराकानीमा पनि ओलीले खुट्टै ढोग्न आएको खण्डमा तालमेल गर्ने नगर्ने विषयमा आफूले प्रचण्डसँग सल्लाह गर्ने बताएका थिए ।

पार्टीलाई क्षति हुने कुराले डराए प्रचण्ड

चुनावी तालमेलको विषयमा नेकपा संयोजक प्रचण्डले युवा नेताहरूसँग समेत संवाद गरेको दाबी गरिन्छ । नेकपाका युवाले पनि ओली झापा-५ बाट हार्ने भएपछि गुहार मागेको जानकारी गराएपछि प्रचण्डलाई ओलीसँग तालमेल गरेर अगाडि बढे पार्टीबाट धेरैले विद्रोह गर्ने जानकारी गराए ।

प्रचण्डलाई आफूहरूले यसबारे अवगत गराएको जानकारी गराउँदै नेकपाका तेस्रो तहका नेता भन्छन, ‘ झापा ५ मा नेकपा उम्मेदवार रञ्जित तामाङजीको सम्भावना राम्रै छ । जित नभए पनि एमाले र अरुलाई राम्रो क्षति हुन्छ । बालेनका कारण झापा ५ बाट ओली पराजित हुने भनेका थियौँ ।’

तेस्रो तहका नेताहरू ओलीले आफू शक्तिशाली हुन अनेक लोभ देखाइरहेको बताउँदै यस्तोमा नफस्न प्रचण्डलाई आग्रह गरेको दाबी गर्छन् ।

‘जेन-जी आन्दोलन हिंसात्मक बनाउन ओलीले भूमिका खेलेकै कारण राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमालेसँग तालमेल नगर्ने बिन्दुमा पुगेको छ । हामीले एमालेसँग तालमेल गरेर गयौँ भने एमालेले गरेका सम्पूर्ण गल्तीहरू नेकपामाथि खनिन पुग्छन् । जस्तोसुकै ललिपाप एमालेले नेकपालाई खुवाएको खण्डमा पनि अहिले तालमेल गर्नु हुँदैन भनेर प्रचण्डलाई भन्यौँ’, ती युवा नेता भन्छन्, ‘ओलीको ललिपपमा फसेर शरीरभरि जेन-जी आन्दोलनका सहिदको रगत लत्पत्याउनुभन्दा त्यसबाट टाढा भएर थोरै सम्मानजनक सिट ल्याउँ भन्ने सुझाव दिएका छौँ ।’

चुनावी तालमेलको चर्चाछि झापा ५ का उम्मेदवार रञ्जित तामाङले पनि प्रचण्डलाई फोन गरेर एमालेसँग तालमेल नगर्न आग्रह गरेका थिए । उनले देशव्यापी नेकपाको लहर बढेकाले विवादित पात्रसँग तालमेल गरे पार्टीले सम्मानजनक सिट ल्याउन नसक्ने सचेत गराए।

अहिले पनि ओलीले चुनावी तालमेलको लागि नेकपा र राप्रपासँग संवाद गरिरहेका छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि एमाले लगायतसँग चुनावी तालमेल नगर्ने पक्षमा छन् ।

उनले झापा-५ मा पनि कुनै हालतमा तालमेल गरेर राप्रपा अगाडि बढ्ने पक्षमा नभएको दाबी गरे । विगतमा जानी नजानी एमालेसँग सहकार्य गरेर अगाडि बढे पनि आन्दोलनपछि त्यो अवस्था नरहेको लिङ्देनको दाबी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार