प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीलाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओली आज बिहान करिब ९ः१५ बजे बालुवाटार पुगेका थिए ।
उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ । पछिल्लो समय एमालेले निर्वाचन दुई चरणमा गर्नु नहुने अडान राख्दै आएको छ । तर, प्रधानमन्त्री कार्कीले मौसमका कारण हिमाली भेगमा दोस्रो चरणमा निर्वाचन गराउन सकिने अभिव्यक्ति दिएकी थिइन् । सोही अभिव्यक्तिलाई आधार बनाउँदै बुधबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सरकारले निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएको थियो ।
पार्टी कार्यालय च्यासलमा आयोजित निर्वाचन परिचालन कमिटीको बैठकपछि उपाध्यक्ष रामबहादुर थापा (बादल)ले एकै चरणमा निर्वाचन गरिनुपर्ने एमालेको स्पष्ट माग रहेको बताउँदै सरकार विभिन्न बहानामा चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।
त्यसैगरी, बुधबार साँझ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संरक्षण गरिरहेको आरोपसमेत लगाए । उनले एमालेकाे ‘घुँडा टेक्ने’ नीति नभएको स्पष्ट पार्दै चुनाव लड्ने र जित्ने दाबी गरेका थिए ।
सरकार र एमालेबीच दूरी बढ्दै गएको अवस्थामा प्रधानमन्त्री कार्कीसँग एमाले अध्यक्ष ओलीबीच भएकाे करिब दुई घण्टा लामो भेटवार्तालाई राजनीतिक रूपमा महत्वका साथ हेरिएको छ ।





प्रतिक्रिया दिनुहोस्