धनगढीः कैलालीको टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्लाको टीकापुर नगरपालिका–७ प्रतिपुर स्थित हुलाकी सडक खण्डमा टीकापुरबाट भजनी तर्फ जाँदै गरेको भे १ त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भई सोमवार साँझ ७ः५० बजे बिच सडकमा पल्टिदा ट्रालीमा सवार भजनी नगरपालिका–७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरियाको मृत्यु भएको हो।
गम्भिर घाइते भएका कठरियालाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा उपचारको क्रममा राति ८ः२० मा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ट्रालीमा सवार सोही ठाउँ बस्ने ३४ वर्षीय पंकज कठरिया घाईते भएका छन्।
पंकजलाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज, बाँके रिफर गरिएको जनाइएको छ। ट्याक्टर चालक भजनी नगरपालिका–७ चर्रा बस्ने २७ वर्षीय सहिराज अली फरार रहेकोले र उनको खोजतलास भईरहेको प्रहरी चौकी सत्तिले जनाएको छ। ट्याक्टर र ट्राली प्रहरी चौकी सत्ति, कैलालीको नियन्त्रणमा रहेको छ।





प्रतिक्रिया दिनुहोस्