काभ्रे — सरकारले स्वास्थ्य बिमाअन्तर्गतको रकम भुक्तानीमा ढिलाई गरे पनि धुलिखेल अस्पतालले बिमा अन्तर्गतको उपचार सेवा नरोक्ने बताएको छ ।
सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य बिमाको रकम भुक्तानी गर्न सकेको छैन। सरकारले भुक्तानी नदिएपछि त्रिवि शिक्षण अस्पताललगायतले बिमाअन्तर्गत औषधि, उपचार सुविधा बन्द गरेका छन् ।
धुलिखेल अस्पतालले सेवामा प्रतिबद्ध रहेको भन्दै बिमा सुविधाअन्तरगतका बिरामीको उपचार नरोक्ने जनाएकाे हो । अस्पतालको विस्तारित सेवाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका संस्थापक प्रा.डा रामकण्ठ माकजुले विपन्न नागरिकलाई लक्षित गर्दै सरकारले थालेको बिमा कार्यक्रम सकारात्मक हुँदाहुँदै पनि यसको व्यवस्थापनमा भने समस्या देखिएको बताए । धुलिखेल अस्पतालले उधारोमै सामान किनेर भए पनि बिमा अन्तर्गतको उपचार नरोक्ने उनले बताए ।
अस्पतालका निर्देशक प्रा. डा. बलराम मल्लका अनुसार गत साउनदेखि हालसम्म अस्पतालले बिमा र विपन्न नागरिक स्वास्थ्य उपचार बापतको ३६ करोड रुपैयाँ सरकारबाट लिन बाँकी छ । अस्पतालमा आउने ६० प्रतिशत भन्दा बढी बिरामीको उपचार बिमामार्फत हुने गरेको मल्लले जानकारी दिए ।
उनका अनुसार दैनिक १५ लाख रुपैयाँ बराबरको बिमा र मासिक ५० लाख रुपैयाँ बराबरको विपन्न नागरिक उपचार सेवा अस्पतालले दिइरहेको छ । ‘बिमा अन्तर्गतको उपचार रोक्दा दैनिक एक हजार भन्दा बढी बिरामी प्रभावित हुने भएकाले हामी उपचार रोक्ने पक्षमा छैनौ,’ मल्लले भने ।
धुलिखेल अस्पतालले बहिरंग सेवा (ओपीडी) को सञ्चालन समयको पनि विस्तार गरेको छ। बिहानी एवं दिउँसाेकाे समयमा कामकाजमा व्यस्त रहने सेवाग्राहीलाई लक्षित गरी अस्पतालले आफ्नो नियमित ओपीडी सेवाहरू दुई घण्टाले बढाएको हो ।
नयाँ ओपीडी सञ्चालन तालिका अनुसार बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म हुने अस्पतालले जानकारी दिएको छ । यसअघि ओपीडी सेवा बिहान ९:०० बजेदेखि साँझ ४:०० बजेसम्म सञ्चालन हुँदै आएको थियो।
यसबाहेक अस्पतालले केही सातादेखि शनिबार पनि ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। अन्य दिन कार्यालय वा दैनिक व्यस्तताका कारण ओपीडी सेवा लिन नपाएका सेवाग्रहीलाई दृष्टिगत गरी अस्पतालले शनिबार समेत बिहान ९:०० बजे देखि अपराह्न १:०० बजेसम्म बहिरंग सेवा थालनी गरिएको अस्पतालका निर्देशक मल्लले बताए ।
विस्तारित सेवा अर्थात् अपरान्ह सत्रकाे ओपीडी र शनिबारीय ओपीडीमा स्वास्थ्य बिमा सेवा लागु नहुने अस्पतालका प्रवक्ता प्रा.डा.सुमनराज ताम्राकारले बताए । यो समयमा हुने स्वास्थ्य सेवाको बिमा दाबी गर्न समस्या हुने भएकाले सेवा दिन नसकिएको उनको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्